काठमाडौं- भारतको सिक्किम राज्यमा आगामी चैत ११ गते आयोजना हुने अन्तर्राष्ट्रिय इंग्लिश स्पिक कार्यक्रममा नेपालबाट हेमराज दाहाल उपाध्यायले प्रतिनिधित्व गर्ने भएका छन्। १३ देशका प्रतिनिधिहरू सहभागी हुने उक्त कार्यक्रममा प्रत्येक राष्ट्रबाट एक–एक जना वक्तामात्र सहभागी हुनेछन्।
नेपालको तर्फबाट सहभागी हुने दाहालले अन्तर्राष्ट्रिय मञ्चमा ‘ग्रेटर नेपाल’ विषयमा अंग्रेजी भाषामा आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उनले ऐतिहासिक तथ्य, राष्ट्रिय पहिचान, भू–राजनीतिक चेतना तथा वर्तमान पुस्ताको भूमिकालाई केन्द्रमा राख्दै नेपालको ऐतिहासिक सीमा र राष्ट्रिय आत्मसम्मानका विषयहरू उठाउनेछन्।
सीमित तर उच्चस्तरीय सहभागिता रहने यस कार्यक्रममा विभिन्न देशका युवा वक्ताहरूबीच विचार आदान–प्रदान, भाषा दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय समझदारी विस्तार गर्ने उद्देश्य लिइएको आयोजक पक्षले जनाएको छ। प्रत्येक राष्ट्रबाट एक जना मात्र प्रतिनिधि सहभागी हुने भएकाले कार्यक्रमलाई विशेष र प्रतिष्ठित अन्तर्राष्ट्रिय फोरमका रूपमा हेरिएको छ।
जाजरकोट जिल्लाका स्थायी बासिन्दा दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बाल–युवा नेतृत्व, सामाजिक न्याय र नागरिक सचेतनाका क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। ‘ग्रेटर नेपाल’ जस्तो संवेदनशील र ऐतिहासिक विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु नेपालको आवाज विश्व समुदायसमक्ष पुर्याउने महत्वपूर्ण अवसर भएको विश्लेषकहरूको भनाइ छ।
नेपालको तर्फबाट हेमराज दाहाल उपाध्यायको सहभागिताले अन्तर्राष्ट्रिय समुदायमा नेपालको इतिहास, राष्ट्रिय दृष्टिकोण र युवा पुस्ताको धारणा स्पष्ट रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया