काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर रहँदा सुकुमवासी बस्तीमा डोजर चलाएर उठीबास लगाउने बालेन्द्र शाह (बालेन) अहिले झापाका सुकुमवासीसँग भने लालपुर्जाको आश्वासन दिँदै हिँडेका छन्।
आगामी फागुन २१ को निर्वाचनमा झापा ५ को उम्मेदवार रहेका बालेनले मंगलबार त्यहाँको कमल गाउँपालिकास्थित सुकुमवासी बस्ती पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटेका थिए । स्थानीयले काठमाडौंमा सुकुमवासी बस्ती भत्काइएका अनुभव सुनाएर त्यसबारे बालेनसँग जिज्ञासा राखेका थिए ।
यसको जवाफमा बालेनले काठमाडौंमा डोजर चलाउने उद्देश्य सुकुमवासी हटाउन नभएर ‘ज्यान जोगाउन’ का लागि गरिएको बताए। उनले भने, ‘खोला छेउको जग्गा सार्वजनिक हो, बाढीमा जोखिम हुन्छ। त्यसैले सुरक्षित स्थानमा सारिएको हो, तर गलत न्यारेटिभ फैलाइएको मात्र देखाइयो।’
तर झापाका सुकुमवासीको अवस्था फरक भएको भन्दै उनले थपे, ‘यहाँ त वास्तविक सुकुमवासी ४०–५० वर्षदेखि बसिरहेका छन्। उनीहरूले आफ्नो अधिकार पाउनु आवश्यक छ।’
एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘लगत उठाउँछन्, कर लिन्छन्, आयोग आउँछ, कागज लैजान्छ, तर अहिलेसम्म केही भएको छैन।’
बालेनले स्पष्ट पारे, ‘भूमि आयोगमा आफ्नै कार्यकर्ता नियुक्त गर्ने र वास्तविक सुकुमवासीले अधिकार नपाउने समस्या दोहोरिन दिइँदैन। वास्तविक सुकुमवासीले मात्र अधिकार पाउनुपर्छ, नक्कलीले होइन।’
काठमाडौंको सुकुमबासी बस्तीमा डोजर चलाएका बालेनले झापामा लालपुर्जाको आश्वासन दिएपनि उनको दोहारो चरित्रको आलोचना भइरहेको छ । उनको यो द्वैध चरित्रले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चर्काएको छ।
प्रतिक्रिया