काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदै छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।
यसैगरी, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । साथै, जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई सम्बोधन गरेका थिए भने उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकन समेत गरे ।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेका थिए ।
राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि मिति २०८२ माघ १८ गते आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए ।
प्रतिक्रिया