काठमाडौं- नेपाल इको प्यानलले गुणस्तर, वातावरणीय संरक्षण तथा श्रमिक सुरक्षालाई सुनिश्चित गर्ने तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनीले ISO 9001:2015, ISO 14001:2015 र ISO 45001:2018 प्रमाणपत्र क्वालिटी अष्ट्रिया (Quality Austria) बाट प्राप्त गरेको हो। यी तीनै आइएसओ प्रमाणपत्र समेटिएको Integrated Management System (IMS) मार्फत नेपाल इको प्यानलले आफ्ना सम्पूर्ण उत्पादन तथा सञ्चालन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको जनाएको छ।
ISO 9001:2015 ले उत्पादन तथा सेवामा निरन्तर गुणस्तर सुनिश्चित गर्छ भने ISO 14001:2015 ले वातावरणमैत्री अभ्यासप्रति कम्पनीको प्रतिबद्धता देखाउँछ। त्यस्तै, ISO 45001:2018 ले श्रमिकको स्वास्थ्य र कार्यस्थल सुरक्षालाई प्राथमिकतामा राखेको पुष्टि गर्छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले क्वालिटी अष्ट्रियाबाट प्रमाणित IMS प्रणालीले नेपाल इको प्यानललाई प्रत्येक परियोजनामा विश्वस्तरीय अभ्यास अपनाउन सक्षम बनाएको बताए। उनले भने, “हाम्रो Quality Austria–certified IMS ले हरेक परियोजनामा गुणस्तरीय, दिगो र सुरक्षित निर्माण समाधान प्रदान गर्न सहयोग गरेको छ।”
नेपाल इको प्यानलको IMS प्रणालीले विशेषगरी जलविद्युत्, आवासीय तथा व्यावसायिक निर्माण परियोजनाहरूमा स्थानीय उत्पादकका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ। अन्तर्राष्ट्रिय प्रमाणपत्रसहितको यो उपलब्धिले नेपाली निर्माण उद्योगमा दिगोपन र विश्वसनीयताको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
प्रतिक्रिया