युनिफिकेशन चर्चसँग जोडेकोप्रति बाबुराम भट्टराईको सचिवालयको आपत्ति

बुधबार, २१ माघ २०८२, १६ : ०१

काठमाडौं — पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई युनिफिकेशन चर्चसँग जोडेर केही सञ्चारमाध्यमहरूले तथ्य र प्रमाणविनाको भ्रामक सामग्री प्रकाशित गरेको भन्दै उनको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।

सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमा Indepth Story, टंक दहाल, हिमाल खबर, नेपाली टाइम्स लगायतका माध्यमले कुनै ठोस आधारबिनै उत्तेजनात्मक शीर्षक र प्रस्तुतीमार्फत डा. भट्टराईलाई अन्य पूर्व प्रधानमन्त्रीहरूसँग जोडेर भ्रम सिर्जना गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा उक्त सामग्रीहरूमा आरोप पुष्टि गर्ने कुनै दस्तावेज, तथ्य वा विश्वसनीय प्रमाण नरहेको स्पष्ट पारिएको छ।

विज्ञप्तिअनुसार, २०६८ सालमा एकनाथ ढकाल मन्त्रिपरिषद्मा सहभागी भएको प्रसंग बाहेक युनिफिकेशन चर्चसँग डा. भट्टराईको संलग्नता देखाउने कुनै सुसंगत आधार प्रस्तुत गरिएको छैन। त्यतिबेला ‘होलिवाइन’ विषय सार्वजनिक बहसकै रूपमा नआएको र पहिलो संविधानसभा तथा तत्कालीन सरकारको संरचना हालको राजनीतिक सन्दर्भभन्दा फरक रहेको सचिवालयको दाबी छ।

सचिवालयले सन्दर्भविहीन, अनुमानमा आधारित तथा तथ्यहीन सामग्री सम्प्रेषण गरेर पूर्व प्रधानमन्त्री भट्टराईको सार्वजनिक छविमा नकारात्मक प्रभाव पार्ने प्रयास गरिएको आरोप लगाएको छ। साथै, यस्ता सामग्रीका कारण आम जनतामा परेको भ्रमप्रति सम्बन्धित सञ्चारमाध्यमहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको छ।

आगामी दिनमा तथ्य परीक्षण नगरी, प्रमाणविनै व्यक्तिको चरित्र र प्रतिष्ठामाथि प्रश्न उठाउने खालका सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि सचिवालयले आग्रह गरेको छ।

 
 
बुधबार, २१ माघ २०८२, १६ : ०१

प्रतिक्रिया