अब निर्वाचनको चन्दा संकलन र खर्चमा बैंकिङ कारोबार अनिवार्य

बुधबार, २१ माघ २०८२, १६ : २८

काठमाडौं- निर्वाचनका बेला राजनीतिक दल तथा उम्मेदवारले प्राप्त गर्ने नगद सहयोग र चन्दा अब बैंक खातामार्फत मात्रै कारोबार गर्नुपर्ने भएको छ। निर्वाचन खर्चलाई पारदर्शी र नियमनयोग्य बनाउन निर्वाचन आयोगले यस्तो व्यवस्था लागू गरेको हो।

निर्वाचन आयोगले मंगलबार ‘राजनीतिक दल तथा उम्मेदवारका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२’ पारित गर्दै नगद उठाएर सिधै खर्च गर्ने अभ्यासमा रोक लगाएको छ। कार्यविधिअनुसार दल वा उम्मेदवारले नगद वा चेक जुनसुकै माध्यमबाट सहयोग प्राप्त गरे पनि सो रकम पहिले बैंक खातामा जम्मा गर्नुपर्नेछ र खाताबाट मात्रै खर्च गर्न पाइनेछ।

कार्यविधिको दफा ६(२) अनुसार २५ हजार रुपैयाँ वा सोभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्ने उम्मेदवारले उक्त रकम सिधै बैंक खातामै लिनुपर्ने व्यवस्था गरिएको छ। आयोगका अनुसार यसले निर्वाचन खर्चको लेखापरीक्षण सहज बनाउने र अवैध खर्च नियन्त्रण गर्न मद्दत पुग्नेछ।

नयाँ व्यवस्थाले निर्वाचनमा हुने आर्थिक गतिविधिलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउँदै पारदर्शिता, उत्तरदायित्व र वित्तीय अनुशासन कायम गर्ने अपेक्षा आयोगले गरेको छ।

 
 
 
बुधबार, २१ माघ २०८२, १६ : २८

प्रतिक्रिया