काठमाडौं– बजारमा खाना पकाउने ग्यासको अभाव हुने हल्ला निराधार रहेको स्पष्ट पार्दै नेपाल आयल निगमले आपूर्ति व्यवस्थापन थप सुदृढ बनाएको छ। निगमले कृत्रिम अभाव सिर्जना हुन नदिन निगरानी कडा पारिएको जनाएको छ भने उपभोक्तालाई अनावश्यक रूपमा ग्यास स्टक नगर्न आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार ग्यास आयात पूर्ण रूपमा नियमित र सहज छ। उनले बुधबार मात्रै इन्डियन आयल कर्पोरेसनबाट १११ बुलेट ग्यास भित्रिएको जानकारी दिँदै यसबाट करिब १ लाख ४० हजार ७ सय सिलिन्डर बजारमा पठाउन सकिने बताए।
उपभोक्ताले ग्यास अभावको चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै निगमले ग्यास उद्योगहरूसँग निरन्तर समन्वय गरेर आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ। सोही समन्वयअनुसार आज (बिहीबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको छ।
निगमले सार्वजनिक गरेको तालिकाअनुसार उपत्यकाभर ६६ वटा आधिकारिक बिक्रेता तथा डिपोमार्फत ग्यास वितरण भइरहेको छ। आजका लागि मात्रै ६ हजार ४० सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ।
आयल निगमले बजारमा देखिने अस्वाभाविक गतिविधि, कालोबजारी र कृत्रिम अभावप्रति कडा निगरानी जारी राखिने चेतावनीसमेत दिएको छ।

_bzgtnz9awf_flppfgz1xj.png)
प्रतिक्रिया