काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
आयोगका अनुसार अब निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल, उम्मेदवार वा प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। अनुमति नलिई सवारीसाधन प्रयोग गर्ने वा मौन अवधिमा चलाउने सवारी नियन्त्रणमा लिएर मतदानपछि मात्र फिर्ता गरिने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा वा प्रदेशसभा उम्मेदवारले अधिकतम दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सवारीसाधन नहुने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ।
स्थानीय तह निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख/उपप्रमुख उम्मेदवारले दुईवटा, नगरपालिका प्रमुखरउपप्रमुख तथा गाउँपालिका अध्यक्षरउपाध्यक्ष उम्मेदवारले एउटा सवारीसाधन प्रयोग गर्न पाउनेछन्। वडाअध्यक्ष वा सदस्य उम्मेदवारले आफ्नो वडाभित्र मात्र एक सवारीसाधन प्रयोग गर्न सक्नेछन्।
मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारी सञ्चालन गर्न नपाइनेछ। तर सुरक्षाकर्मी, सञ्चारमाध्यम, पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, विदेशी पर्यटक तथा आयोगले तोकेका अन्य व्यक्तिहरूलाई सवारी प्रयोगको अनुमति दिइनेछ।
विदेशी नम्बर प्लेट भएका सवारीसाधन निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न रोक लगाइएको छ । तर, अस्पताल, दमकल, खानेपानी ट्यांकर, दूध ढुवानी, शववाहन, दूरसञ्चार र विद्युत् सेवा जस्ता अत्यावश्यक सवारी र ‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक सवारीलाई अनुमति लिन आवश्यक छैन।
काठमाडौं जिल्लामा अनुमति प्रक्रिया आयोग परिसरमा स्थापन हुने एकीकृत सवारीसाधन आवागमन डेस्कमार्फत सञ्चालन हुनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा अनुमति जारी गरिनेछ।
प्रतिक्रिया