दाङ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशस्तरीय चुनावी बैठक सम्पन्न गरेको छ । बैठकले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा जनसम्पर्क विस्तारलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सशक्त उपस्थिति जनाउने निर्णय गरेको छ ।
बैठकमा बोल्ने पार्टीका नेताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति जनतामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा राप्रपाको एजेन्डा प्रभावकारी रहेको दाबी गरे । पार्टीको राष्ट्रवादी, लोकतान्त्रिक तथा पहिचानमुखी विचारधारालाई घर–घरमा पु¥याउने रणनीतिमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
बैठकले वडास्तरदेखि टोलस्तरसम्म चुनावी समिति गठन गर्ने, नियमित प्रचार–प्रसार कार्यक्रम सञ्चालन गर्ने र मतदाता भेटघाटलाई तीव्रता दिने निर्णय गरेको छ । साथै, अनुशासित र मर्यादित प्रचारमार्फत पार्टीप्रति जनविश्वास बढाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन् ।
प्रदेश सभाका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा सम्पन्न बैठकका प्रमुख अतिथि निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार तथा केन्द्रीय सदस्य दामोदर भण्डारीले उत्साह, ऊर्जा र उच्च मनोबलका साथ निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे । उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे संक्षिप्त धारणा राख्दै प्रभावकारी रणनीतिसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
त्यस्तै, बैठकमा समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य शिवकुमार चौधरीले पार्टीका एजेन्डा जनमुखी भएकाले यसपटक मतदाताले राप्रपालाई विश्वास गर्नेमा आफू ढुक्क रहेको बताए ।
बैठकमा केन्द्रीय सदस्य विश्वदेव शाह, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष भूपाल रावत, निवर्तमान जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, निर्वाचन क्षेत्र नम्बर ३ का अध्यक्ष दीपक धिताल, प्रदेश सभा ‘ख’ का अध्यक्ष श्रीमणि न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष पर्वत बस्नेतलगायत प्रदेश जिल्ला , नगर तथा
वडा तहका नेताहरूको सहभागिता रहेको वैठकको सञ्चालन वंशीकुमार शर्माले गरेको जानकारी दिपजंग केसीले दिएका छन् । बैठकको अन्त्यमा सहभागीहरूले एकताबद्ध भएर निर्वाचनमा सफलता हासिल गर्ने संकल्प व्यक्त गरेका छन् ।


प्रतिक्रिया