अपडेट

६ महिनामा भित्रियो आठ अर्ब १७ करोड वैदेशिक लगानी

शनिबार, २४ माघ २०८२, १४ : ५९

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पुससम्म आठ अर्ब १७ करोड रुपैयाँ भित्रिएको हो । गत वर्ष सोही अवधिमा छ अर्ब ४८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । 

छ महिनामा ४७५ परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

यस्तै छ महिनामा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको थियो । गत आवको छ महिनाको तुलनामा दुई अर्ब बढी वैदेशिक लगानी वृद्धि भएको हो ।

अब नेपालमा आउने सबै प्रकारका वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । हालै सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो । यससँगै थप लगानी बढ्ने अनुमान गरिएको छ । 

यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो । अब भने जति पनि विदेशी लगानी स्वचालित मार्गबाट लगानी स्वीकृत हुनेछ ।

 
शनिबार, २४ माघ २०८२, १४ : ५९

प्रतिक्रिया