काठमाडौं- भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहित सम्मानित भएकी छन्। भरतपुर उपमहानगरपालिका-११ मा अवस्थित युनाइटेड टेक्निकल कलेजको स्वागत तथा बिदाइ कार्यक्रममा उनलाई विशेष अतिथि चुडामणि खनालले १० हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन्।
स्नातक तह कम्प्युटर इन्जिनियरिङको छैटौँ सेमेस्टरमा ४.० जीपीए हासिल गर्दै विश्वविद्यालय टपर बनेकी त्वानाबासुलाई उक्त उपलब्धिको कदरस्वरूप सम्मान गरिएको कलेजले जनाएको छ। उनी हाल कम्प्युटर इन्जिनियरिङ संकायमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छिन्।
अध्ययनसँगै विभिन्न शैक्षिक तथा अतिरिक्त गतिविधिमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी त्वानाबासुले यसअघि पनि विभिन्न विधामा प्रथम स्थान हासिल गर्दै आएकी छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेज सञ्चालक समिति अध्यक्ष चुडामणि खनालले कलेजबाट अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूलाई इमानदारीपूर्वक अध्ययन गर्न सुझाव दिँदै आवश्यक परेमा भविष्यमा पनि सहयोग गर्न सधैं तयार रहेको बताए।
कार्यक्रममा स्नातकोत्तर तह तथा अन्य विधामा ४.० जीपीए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। त्यस्तै, शिक्षकतर्फ विभागीय प्रमुख इन्जिनियर निरज बोहरा र लाइब्रेरियन मिरा प्याकुरेलालाई पनि सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको कलेजले जनाएको छ।
युनाइटेड टेक्निकल कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो।
प्रतिक्रिया