काठमाडौँ - मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले माघमा २५ गते आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । चित्लाङस्थित विश्वविद्यालयको आफ्नै परिसरमा आयोजना भएको समारोहमा विभिन्न शिक्षाविद् तथा वैज्ञानिकहरूको उपस्थिति रहेको थियो ।
नेपालमा विश्वस्तरीय शिक्षा र अनुसन्धानलाई बढावा दिने उद्देश्यले ०७९ मा स्थापित यस विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा उच्च शिक्षाका अन्तर्राष्ट्रिय विज्ञ डा. जमिल साल्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। डा. साल्मी विश्व बैंकका पूर्व उच्च शिक्षा संयोजकका साथै बोस्टन कलेजका अनुसन्धान फेलो र चिलीको डिएगो पोर्टल्स विश्वविद्यालयका प्राध्यापक हुन् ।
समारोहमा विशेष अतिथिका रूपमा क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व उपकुलपति एवं अनुसन्धानकर्मी प्रा. सुजन फोर्टियर र विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा रहेका सिंगापुरका प्रा. सीराम रामकृष्णको सहभागीता थियो । प्रा. रामकृष्ण हाल चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर र चिनियाँ विज्ञान प्रतिष्ठानका प्राज्ञ हुन् । उनीहरू दुवै जना मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीजका सदस्यसमेत हुन् ।
विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीजका अध्यक्ष एवं उद्योगपति पद्म ज्योतिको सभापतित्वमा सम्पन्न सो समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले स्वागत मन्तव्य राखेका थिए । डा. जोशीले उद्योग र राष्ट्रिय अर्थतन्त्रको विकासमा विश्वविद्यालयले निर्वाह गरिरहेको भूमिकाका बारेमा प्रकाश पारेका थिए।
उक्त भव्य समारोहमा तीन जना विद्यार्थीहरू दीक्षित भएका थिए । हाल यस विश्वविद्यालयमा जैविक कृषि, वन्य जैविक स्रोत, दिगो पूर्वाधार, एआई र तथ्यांक विज्ञान जस्ता आधुनिक विषयहरूमा स्नातकोत्तर र विद्यावारिधि तहमा ६६ जना विद्यार्थीहरू अनुसन्धानरत छन् ।
दीक्षान्त समारोहको अवसर पारेर विश्वविद्यालयले सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । जसअन्तर्गत २४ माघमा नेपाली उद्योग परिसंघसँगको सहकार्यमा विश्वविद्यालय अनुसन्धानद्वारा आर्थिक वृद्धिको इन्धन विषयक गोलमेच सम्मेलन आयोजना गरिएको थियो । यसैगरी २६ माघमा ‘नेपालमा विश्वस्तरीय विश्वविद्यालय’ सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रतिक्रिया