काठमाडौं- ब्रिटिस काउन्सिलले लैंगिक समानता, समावेशी आवाज र समाजका कम प्रतिनिधित्व भएका समुदायलाई सृजनात्मक मार्फत अघि बढाउने उद्देश्यसहित १२ कला परियोजनालाई अनुदान दिएको छ। “इक्वेल टुगेदर” कार्यक्रम अन्तर्गत कुल ८४ लाख ८२ हजार ७०० रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको हो।
यस वर्षका अनुदान प्राप्त गर्ने ८ जना कलाकर्मी र ४ संस्था न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्मको रकम पाएका छन्। उनीहरूले अनुदानसँगै कला क्षेत्रका विज्ञबाट प्रशिक्षण, परियोजना कार्यान्वयन, दर्शक सहभागिता र सृजनात्मक विकाससम्बन्धी अवसर पाउनेछन्।
अनुदान अवधि सन् २०२६ जनवरीदेखि जूनसम्म हुनेछ। परियोजनामा काठमाडौं र बेलफास्टमा क्वेयर समुदायको कमिक प्रदर्शनी, जनकपुरमा मिथिला कला पदयात्रा, दमक र काठमाडौंमा महिला र क्वेयर समुदायका स्ट्यान्ड–अप कमेडी कार्यक्रम, फिल्म, नाटक, बाल पुस्तक र स्थानीय समुदायसँगको सहभागितामा आधारित कला प्रदर्शनी हुनेछन्।
ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने- “इक्वेल टुगेदरले लैंगिक मुद्दा उजागर गर्ने कलाकारसँग सहकार्य गर्ने अवसर दिएको छ। यी परियोजनाले नेपालका विविध समुदायमा सृजनात्मक संवाद कसरी सृजन गर्न सकिन्छ भन्ने देखाउनेछन्।”
सन् २०२५–२६ को लागि १८० भन्दा बढी आवेदन आएका थिए । त्यसबाट ५३ आवेदकलाई सेमिनारमा सहभागी गराइ सत्रपछि १२ परियोजना छनोट गरिएका हुन्।
छनोट भएका परियोजनाहरु:
विराट विजय ओझा (काठमाडौं/बेलफास्ट): पुरुषत्व र भावनात्मक उपचारमाथि क्वेयर कमिक
इनुमा राई (कोशी प्रदेश): किराँत समुदायकी वृद्ध महिलाको कथामा अडियो–भिजुअल स्टोरी
दि लिड नेपाल (सुर्खेत): युवा दलित महिलाको सशक्तिकरणमा कविता वाचन र फोटोग्राफी
मिथिला माझ (जनकपुर): महिला कलाकारको योगदानमा डिजिटल पदयात्रा र भित्तेचित्र
डोल्कर ल्हामु गुरुङ (काठमाडौं): तिब्बती लोक ओपेरामा लैंगिक विविधता
दिनेशराज उपाध्याय (सुदुरपश्चिम): महिलाको लोपोन्मुख लोकसंगीत संरक्षण
योजना मगर (काठमाडौं): लघु फिक्सन फिल्ममार्फत लैंगिक मूल्य चित्रण
सुशीला तामाङ (काठमाडौं): बाल साहित्यमा समावेशी कथावाचन
पास द माइक (दमक/काठमाडौं): महिला र LGBTQ+ समुदायमा हास्य–सृजनात्मक कार्य
एलिज घिमिरे (पोखरा/बुटवल/काठमाडौं): फेसन आर्टमार्फत लैङ्गिक पहिचान र सहनशीलता
गार्गी नेपाल (काठमाडौं/चितवन): अपाङ्गता भएका किशोरी र युवामाथि समावेशी नाटक
अंकुरा स्टुडियो (ललितपुर): नेवारी वृद्ध महिलाको कथामा कला र स्टोरी टेलिङ
यी परियोजनाले लैंगिक समानता, समुदायको आवाज र सृजनात्मक अभ्यासलाई प्रोत्साहन गर्दै नेपालको विविध सांस्कृतिक परिप्रेक्ष्यलाई उजागर गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया