जापानमा मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सनाए तकाइचीको नेतृत्वमा रहेको सत्ताधारी दलले दुई तिहाइ बहुमत सहित जित हासिल गर्ने निश्चित देखिएको छ।
तकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी, एलडीपीले जापानी प्रतिनिधिसभाका ४६५ मध्ये ३५२ सिट जित्ने देखिएको सरकारी प्रसारक एनएचकेले जनाएको छ। चुनावी नजिता औपचारिक रूपमा घोषणा हुन बाँकी छ।
बहुमतका लागि आवश्यक पर्ने ३१६ सिट एलडीपी एक्लैले जित्ने देखिएको छ। त्यो सङ्ख्या प्रतिनिधिसभाको ६८ प्रतिशत अर्थात् दुईतिहाइ हो।
यो जापानको इतिहासमै युद्धपछि सन् १९४७ मा संसद्को अहिलेको संरचना बनेयताकै सबैभन्दा फराकिलो चुनावी जित हो।
देशकी पहिलो महिला प्रधानमन्त्रीले पार्टी प्रमुख बनेको चार महिनामै स्पष्ट बहुमतका लागि आह्वान गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।
उनका दुई जना पूर्ववर्तीहरूका पालामा बाहिर आएका भ्रष्टाचार काण्ड र मूल्य वृद्धिका कारण पार्टीले यसअघि बहुमत गुमाएको थियो।
‘बाजी’ जितेकी तकइची
तकाइचीले यसअघि आफ्नो दलले बहुमत नपाए राजीनामा दिने बताएकी थिइन्। जसकारण कतिपयले मध्यावधि निर्वाचनलाई ‘ठूलो जुवा’ का रूपमा अर्थ्याएका थिए।
एलडीपीले सन् २०२४ मा संसद्का दुवै सदनमा बहुमत गुमाएको थियो र कोमेइतो पार्टीसँगको लामो समयदेखिको गठबन्धन पनि टुटेको थियो।
तर तकाइचीको व्यक्तिगत लोकप्रियताले उनको पार्टीलाई चुनावमा नतिजा दिलाएको देखिएको छ। उनी नेतृत्वको सरकारले ७० प्रतिशत भन्दा धेरै अप्रुभल रेटिङ पाएको थियो।
एलडीपीलाई अहिले सरकारमा साथ दिइरहेको जापान इनोभेसन पार्टीले ३६ सिट जित्ने ठानिएको छ। एनएचकेका अनुसार विपक्षी पार्टीहरूले जम्मा ११३ सिट जित्न सक्नेछन्।
यो जितले तकाइचीलाई आफ्ना परम्परावादी मुद्दाहरू अघि बढाउन सहयोग पुग्ने ठानिएको छ। उनले जापानको रक्षा खर्च वृद्धि गर्दै आप्रवासन नियन्त्रण र जापानको युद्ध विरोधी संविधान पुनरावलोकन गर्ने वाचा गरेकी छन्।
प्रतिक्रिया