एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

बुधबार, २८ माघ २०८२, १० : ३३

काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्ने सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ।

बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ ।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाहरुले अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 

यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु) शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

 

 
बुधबार, २८ माघ २०८२, १० : ३३

प्रतिक्रिया