काठमाडौं- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आउँदो फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको कुल ७५ लाख कित्ता सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा जारी गरी बाँडफाँड समेत गरिसकेको छ।
अब कम्पनीले बाँकी शेयरमध्ये २ लाख ८१ हजार २५० कित्तासामूहिक लगानी कोषहरुका लागि र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
यस आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मात्रै फागुन २६ गते निष्कासन बन्द हुनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया