डिजिटल सेवा प्रणालीलाई एकीकृत गर्दै ‘ग्लोबल डायरी’ सार्वजनिक

बुधबार, २८ माघ २०८२, १४ : ५९

काठमाडौं- सामाजिक सञ्जाल, ई-कमर्स प्लेटफर्म र रोजगार पोर्टलमार्फत डिजिटल सेवा प्रणालीलाई एकीकृत गर्दै ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ। यस पहलमार्फत नागरिक, व्यवसायी र सरकारी निकायले आफ्नो आवश्यकताअनुसार प्रमाणित सेवा सहजै पाउन सक्नेछन्।

आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ‘ग्लोबल डायरी’को मूल उद्देश्य डिजिटल प्लेटफर्ममार्फत नागरिकलाई पारदर्शी, समयमै र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो। यसमार्फत सेवाको गुणस्तर, वस्तु तथा सेवाको मूल्य तुलना, आवश्यक जानकारी प्राप्त गर्ने सुविधा, तथा ग्राहकको प्रतिक्रिया संकलन गर्न सकिनेछ।

साथै, डिजिटल प्लेटफर्ममा सार्वजनिक सूचना, कार्यक्रम, प्रतिवेदन र अन्य महत्वपूर्ण जानकारी प्रकाशित गरिनेछ। यसले नागरिक र सरकारबीच पारदर्शी संवाद स्थापित गर्न मद्दत पुर्याउनेछ।

यो पहलले साना तथा मध्यम व्यवसायीलाई डिजिटल बजारमा सहभागिता बढाउने अवसर प्रदान गर्नेछ। व्यवसायीहरूले समय, लागत र बजार प्रचार खर्च घटाउँदै सेवा प्रवाहमा सुधार गर्न सक्नेछन्।

‘ग्लोबल डायरी’मा दर्ता भएका सरकारी तथा निजी निकायले आफ्नो जानकारी, सेवा विवरण र अन्य सूचनाहरू एकीकृत डिजिटल प्लेटफर्ममा अपलोड गर्न सक्नेछन्। यसले नागरिकलाई आवश्यक सेवाहरू सहज र पारदर्शी रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

यस पहलमार्फत डिजिटल विश्वास, पारदर्शिता र सामाजिक अन्तरक्रियालाई प्रोत्साहित गर्दै भविष्यमा डिजिटल संरचनामा आधारित आर्थिक विकास र प्रशासन सुधारको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।

 
बुधबार, २८ माघ २०८२, १४ : ५९

प्रतिक्रिया