राजनीति

सिन्धुलीमा महेश्वर दाहालको उम्मेदवारीप्रति स्वतन्त्र नागरिकहरुको सामूहिक ऐक्यबद्धता (विज्ञप्तिसहित)

विहीबार, २९ माघ २०८२, ०९ : ५४

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीभित्र नेतृत्वको एकाधिकार विरुद्ध विद्रोह गर्दै सिन्धुलीमा स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहाल प्रति जनमसमर्थन बढ्दै गएको छ । 

बुधबार विभिन्न पेशागत क्षेत्रमा रहेका नागरिकहरुले सिन्धुलीमा पार्टी केन्द्रबाट टिकट वितरणमा गरिएको अन्यायपूर्ण कदमको विरुद्ध विद्रोह गर्दा निष्कासित परेका हरिबोल गजुरेल र महेश्वर दाहालको पक्षमा सामूहिक ऐक्यबद्धता जाहेर गरेका छन् । 

ऐक्यबद्धता व्यक्त गर्नेहरुमा प्रल्हाद रिजाल, कुमार शाह, निराजन पौडेल, फणीन्द्र फुयाल, रजमान तामाङ, दिनदया रिजाल, कश्यप अधिकारी, कमलेश डिसी, ओम शर्मा, शंकर दुलाल र शरद रिजाल रहेका छन् ।

११ जना नागरिक अगुवाको उक्त सामूहिक ऐक्यबद्धतामा भनिएको छ, ‘दलभित्रको अलोकतान्त्रिक र स्वेच्छाचारिता विरुद्ध सिन्धुलीमा हरिबोल गजुरेल र महेश्वर दाहाल लगायतले स्वाभिमानको झण्डा उठाउँदै विद्रोह गरेका छन् । यो विद्रोहलाई हामी स्वागत एवं सम्मान गर्दै ऐक्यबद्धता जाहेर गर्दछौं ।’  अमुक राजनीतिक दलभन्दा माथि उठेर सधैं पार्टी र राज्यका संस्थाहरुलाई जवाफदेही भएर लोकतन्त्रको जीवन्त अभ्यास गर्दै पारदर्शिता हुनुपर्ने उनीहरुको जोड छ ।  

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको सिफारिस विपरीत राजन दाहाललाई सिन्धुली २ मा टिकट दिएपछि हरिबोल गजुरेलसहितको सिंगो जिल्ला कमिटीले महेश्वर दाहाललाई उम्मेदवार बनाएको हो । अहिले स्वतन्त्र उम्मेदवारी दिएका दाहालसहितका नेताहरु बस्ने मुढा चुनाव चिन्ह लिएर निर्वाचन केन्द्रित गतिविध तीव्र बनाएका छन् । 

sindhuli

 
 
 
 
 
 
 
विहीबार, २९ माघ २०८२, ०९ : ५४

प्रतिक्रिया