काठमाडौं– माओवादी जनयुद्धमा सिंगो परिवारसहित होमिएका दोलखाका प्रेम तामाङले जनयुद्ध दिवसकै दिन पार्टी परित्यागको घोषणा गरेका छन्।
उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि जनयुद्धका घाइते तथा अंगभंग भएका योद्धाको उचित सम्मान र व्यवस्थापन नगरेको आरोप लगाउँदै पार्टी छाडेको जनाएका हुन्। शुक्रबार जनयुद्ध दिवसकै दिन जारी विज्ञप्तिमा उनले अब पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने स्पष्ट पारेका छन्।
जनयुद्धका क्रममा आफ्नै २० वर्षीय दाजु गुमाएका तामाङ स्वयं पनि घाइते योद्धा हुन्। उनले युद्धमा दायाँ हात गुमाएका थिए। उनकी श्रीमतीसमेत युद्धमा सक्रिय रूपमा सहभागी भई दर्जनौं मोर्चामा लडेकी थिइन्।
तामाङका अनुसार उनका बुबा–आमासहित परिवारका अन्य सदस्यलाई माओवादीसँग जोडिएको आरोपमा तत्कालीन सुरक्षा निकायले चरम यातना दिएको थियो। यसरी सिंगो परिवार नै संघर्षमा समर्पित हुँदा पनि युद्धपीडितहरूको अवस्था सुधार नभएको भन्दै उनले पार्टी परित्याग गरेका छन्।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा(माओवादी)ले राज्यसत्ता विरुद्ध सशस्त्र जनयुद्धको घोषणा गरेको थियो । आज माओवादी घटकहरुले देशभर जनयुद्ध दिवस औपचारिक रुपमा मनाइरहँदा त्यसमै सम्पूर्ण परिवार सहभागी हुँदै आफ्नो परिवारका सदस्य गुमाएएर स्वयं घाइते भएका तामाङले भने पार्टी छाडेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया