काठमाडौं- कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । सो सेयर खरिदका लागि दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८२ लाख ५०० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा फागुन २७ गते हुनेछ भने ढिलोमा चैत १३ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते हुनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया