एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारणसभा सम्पन्न

आइतबार, ०३ फागुन २०८२, ११ : ३३

काठमाडौं- एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारणसभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सञ्चालित उक्त सभाको समुद्घाटन पनि अध्यक्षले गरेका थिए । कार्यक्रमको सुरुमा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सम्पूर्ण सञ्चालक तथा सेयरधनी महानुभावहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

उक्त विशेष साधारणसभाले कम्पनीको भविष्यको मार्गचित्र तय गर्न विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी, शेयर पुँजी वृद्धिको आधारमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।

सभाको अन्त्यमा, विशेष साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने जिम्मेवारी संस्थाका अध्यक्ष र सेयरधनी रामपुजन रायलाई दिइएको छ । सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण सेयरधनी र सञ्चालकहरूलाई धन्यवाद दिँदै अध्यक्ष प्रवीण कुमार लामाले कार्यक्रम समापन गरेका थिए ।
 

 
आइतबार, ०३ फागुन २०८२, ११ : ३३

प्रतिक्रिया