आजदेखि सुपर खुदी हाइड्रोपावरको आईपीओ बिक्री खुला

मंगलबार, ०५ फागुन २०८२, ११ : १२

काठमाडौं- सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेबाट आईपीओ निष्कासन गरेको छ। 

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासेन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ।

कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 
मंगलबार, ०५ फागुन २०८२, ११ : १२

प्रतिक्रिया