भैरहवा- मंगलबार बिहान भैरहवाको सिद्धार्थ राजमार्ग अन्तर्गत बुद्धचोक र अञ्चलपुरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि बियरका बोत्तल, माटो, बालुवा र पराल राखेर बमजस्तै देखिने सामग्री फेला परेको छ । ती सामग्री फेला परेपछि बिहानैदेखि आवागमन रोकिएको थियो ।
सडकमा बोरामा प्याक गरिएका परालका पोका र माटो भरिएका बोत्तल बाहिर ‘नेपाल बन्द सफल पारौँ’ लेखिएको प्रहरीले जनाएको छ। वैदेशिक हस्तक्षेपको विरोधमा नेकपा बहुमतले आह्वान गरेको बन्द प्रभाव पार्ने उद्देश्यले सर्वसाधारणलाई त्रसित बनाउने शैलीमा सामग्री राखिएको प्रारम्भिक निष्कर्ष छ।
नेपाली सेना र प्रहरीको बम डिस्पोजल टोलीले करिब दुई घण्टा क्षेत्र खाली गराएर जाँच गर्दा कुनै विस्फोटक सामग्री नभएर पराल, माटो र बालुवामात्र रहेको पाइएपछि अवस्था सामान्य बनेको थियो।
घटनाका कारण बिहान केही समय यातायात ठप्प हुँदा स्थानीयमा डर फैलिएको थियो। रुपन्देहीका कतिपय विद्यालय अघोषित रूपमा बन्द भए पनि बजार र सवारी साधन भने दिनभर सामान्य सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया