काठमाडौं– आज(मंगलबार) सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । गाडीमा सवार दुई जना ओर्लिएर राजधानीकै बिच सडकमा एक वृद्धलाई निर्घात कुटपिट गरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उक्त भिडियोमा बा ३ च ११०३ नम्बरको गाडीमा सवार दुई जना व्यक्ति गाडीबाट ओर्लर्दै ती वृद्धलाई के भनेको जड्याहाँ भन्दै सडकमै झापड हानेका छन् । सडकमा ट्राफिक जाम भएर गाडी रोकिएपछि उत्रिएका एक महिला र पुरुषमध्ये अर्का पुरुषले ती वृद्धलाई झापड हान्दा वरपर अन्य सवारीमा रहेका कसैले पनि रोकेका छैनन् । त्यहाँ वरपर रहेका ट्राफिक प्रहरी एवं अन्यले समेत रोक्ने प्रयत्न नगरेर मुकदर्शक बनेका छन् ।
यस घटनालाई शहरमा मानवता हराएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन् । यद्यपि, ती वृद्धले गाडीमा सवार दुई जनालाई अश्लिल गाली गलौज गरेको हुन सक्ने उनीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । गाडीमा सवार दुबै जनाले वृद्धलाई के बोलेको जड्याहाँ भन्दै कुटपिट गरेको भिडियोमा सुनिन्छ ।
ती वृद्धले जाँड खाएर अश्लिल बोले पनि सम्झाइ बुझाइ गर्नुपर्नेमा निर्घात कुटपिट गर्नु गलत भएको अधिकांशले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
यसबारेमा प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेसँग जिज्ञासा राख्दा उनले उक्त भिडियोबारे जानकारी नपाएको बताउँदै पठाउन आग्रह गरे । उनले त्यसबारे अध्ययन गरेर मात्रै थप जानकारी दिने प्रतिक्रिया दिए ।
प्रतिक्रिया