सुनसरी– इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा गए राति जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी र बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी गाँजा बरामद गरिएको हो ।
सवारीसाधनसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया