काठमाडौं- नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा मावि स्तरीय विद्यालयहरूमा विद्यालयमा शून्य फोहोर कार्यक्रम सञ्चालन भएको छ । विद्यालयलाई शून्य फोहोर बनाउने उद्देश्यले द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा बास नेपालले उक्त अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
ग्रीन नेपालगन्ज:सामुदायिक फोहोर रूपान्तरण परियोजना अन्तर्गत बास नेपालले सञ्चालन गरेको उक्त विद्यालयमा शून्य फोहोर कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा उपमहानगरपालिका भित्र रहेका २० वटा विद्यालयहरूको छनौट गरी विद्यालयमा शून्य फोहोर कार्यक्रम अगाडी बढाएको ग्रीन नेपालगन्ज:सामुदायिक फोहोर रूपान्तरण परियोजनाका संयोजक मन भण्डारीले बताए ।
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका श्री देउतादिन मावि, ज्ञान सागर मावि, महेन्द्र मावि, अनाथालय गौसिया मावि, आदर्श मावि, युद्ध संस्कृति मावि, नारायण मावि, महाराजा मावि, आएसा मद्रसा मावि, जगतज्योती मावि, मंगल प्रशाद नमुना मावि, मावि महेन्द्रनगर, जय जनता मावि, धम्बोजी मावि,फुलटेक्रा मावि, नेपालगन्ज कन्या मावि, सरस्वती मावि, नेपाल राष्ट्रिय मावि, दारुल उलम बर्सतिया मावि, जय बागेश्वरी माविमा कार्यक्रम सञ्चालन भइरहेको परियोजना अधिकृत रवीन्द्र बोहराले जानकारी गराए ।
२० वटा विद्यालयहरूमा १० जना सहजकर्ताहरूले कक्षा सञ्चालन गरिरहेका छन् । कक्षा सञ्चालन गर्नु पूर्व १० जना सहजकर्ताहरूलाई प्रशिक्षक प्रशिक्षण प्रदान गरी विद्यालयहरूमा कक्षा सञ्चालनको जिम्मेवारी दिएको थियो । २० विद्यालयहरूमा १० जना सहजकर्ताहरूले फोहोर व्यवस्थापन सम्बन्धी ७ वटा विषय वस्तुहरूमा कक्षा सञ्चालन गरिरहेका छन् । प्रत्येक कक्षामा ४० जना विद्यार्थीहरु सहभागी हुँदै आएका छन् भने सुरुवाती चरणमा कार्यक्रमको बारेमा जानकारी गराउँदै ७ वटै सेसनको बारेमा जानकारी गराइएको थियो ।





फोहोर तथा फोहोर सम्बन्धी अभ्यासहरूको परिचय, फोहोर वर्गीकरण यसको बुझाई, तिन आर विधि, फोहोरबाट कम्पोस्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरू, विद्युतीय फोहोर व्यवस्थापन र फोहोर र जलवायु परिवर्तनको विषयमा कक्षा सञ्चालन गरिएको सहजकर्ता माधव कार्कीले बताए ।
विद्यार्थी तथा शिक्षकहरूलाई फोहोर कम गर्ने, व्यवस्थापन गर्ने तथा दिगो जीवनशैली अपनाउने विषयमा प्रेरित गर्दै सञ्चालन गरिएको कक्षामा विद्यार्थीहरुलाई न्युज प्रिन्ट, मेटा कार्डको माध्यमबाट र प्रोजेक्टरबाट सहजकर्ताहरूले सहजीकरण गर्दै आएका छन् । विद्यार्थीहरुले उत्साहका साथ कक्षा लिइरहेका र समुह कार्यले विद्यार्थीहरु निकै उत्साहित भएको पाइएको छ ।
विद्यालय स्तरबाटै बालबालिकाहरूले फोहर व्यवस्थापनको विषयमा शिक्षा लिई घरपरिवार र समुदायमा सरसफाइ गर्न मद्दत पुग्ने बताइएको छ ।
प्रतिक्रिया