काठमाडौं– झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले औपचारिक रूपमा आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका आकांक्षीसमेत रहेका शाहले सार्वजनिक गरेको दस्तावेजमा संघीय संसद्को सक्रिय भूमिका र स्थानीय तहसम्म देखिने परिणाममुखी सुधारलाई केन्द्रमा राखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट अघि सारिएको बाचापत्रमा संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको व्यवहारिक कार्यान्वयनलाई पहिलो प्राथमिकता दिइएको छ। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतालाई नागरिकको घरदैलोसम्म पुर्याउन आवश्यक कानुन निर्माण, संशोधन तथा प्रभावकारी बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
शाहले संघीय संसद्लाई केवल बहसको थलो नभई समाधान निकाल्ने संरचनाका रूपमा विकास गर्ने उल्लेख गरेका छन्। विद्यमान कानुनहरूलाई सरल, स्पष्ट र नागरिकमैत्री बनाउँदै कार्यान्वयनमा देखिएका जटिलता हटाउने योजना पनि उनले अघि सारेका छन्।
भ्रष्टाचार र प्रशासनिक बेथितिविरुद्ध कडा निगरानी र संसदीय खबरदारी गर्ने अठोट बाचापत्रमा समेटिएको छ। संविधान २०७२ को मर्मअनुसार दायित्व निर्वाह गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने शासन प्रणाली स्थापना गर्ने दाबी शाहले गरेका छन्।


प्रतिक्रिया