काठमाडौं- समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सर्कार र संस्कृतिलाई जीवन्त राख्ने मूल उद्देश्यले सिन्धुली जिल्ला सदरमुकाम स्थित रातमाटा रामेश्वरधाम परिसरमा सामूहिक व्रतबन्ध सम्पन्न गरिएको छ ।
रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञान महायज्ञ समापनको अवसरमा न्यूनतम खर्चमा सर्वसाधारण दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध गरिएको थियो ।
सामूहिक व्रतबन्ध कार्यक्रममा सदरमुकाम सिन्धुली माडीका कुल १३ जना बटुकहरूको सामूहिक रूपमा व्रतबन्ध गरिएको रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद कोइरालाले बताए ।
सामूहिक व्रतबन्ध कार्यक्रममा स्थानीय सयौं महिला पुरुषहरूले बटुकहरूलाई सामूहिक रूपमा भिक्षा प्रदान गरेका थिए । व्रतबन्धमा सामेल बटुकहरूलाई गुरु पुरोहित अर्जुन सापकोटाले मन्त्र सुनाएका थिए ।
घर-घरमा एकल रूपमा हजारौँ रुपैयाँलाई फजुल रूपमा खर्च गरेर विवाह तथा व्रतबन्ध कार्य सम्पन्न गरी क्रृणको बोझ बोकेका स्थानीय बासिन्दाहरू रु एक हजार एक सय शुल्क तिरेर गरिएको सो सामूहिक व्रतबन्ध कार्यक्रमबाट भने प्रभावित भएका थिए ।
सामूहिक रूपमा आयोजना गरिएको सो व्रतबन्धमा सामेल बटुकहरू समूहमा सहभागी भई भिक्षा कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी समेत देखिन्थे ।
सो अवसरमा जिल्ला सदरमुकाम माडीवजारका बासिन्दाहरू सबैलाई एकै साथ भिक्षा दान गराउन र सामूहिक रूपमा मितव्ययी भोजको समेत आयोजना गरिएको थियो ।
प्रतिक्रिया