सुर्खेत- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर–१ मा यसपटकको प्रतिस्पर्धा पुराना राजनीतिक अनुहारबीच केन्द्रित हुँदा मतदातामाझ नयाँ विकल्पको खोजी बढेको देखिएको छ।
नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाही २०७४ सालमा निर्वाचित सांसद हुन्। तर, विगत कार्यकालमा संसदमा प्रभावकारी उपस्थिति नदेखिएको र जनताको मुद्दा पर्याप्त रूपमा उठाउन नसकेको गुनासो स्थानीयस्तरमा सुनिन्छ।
नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का निवर्तमान सांसद पूर्णबहादुर खड्का का सहोदर भाइ हुन्। लामो समय एउटै परिवारबाट उम्मेदवारी दोहोरिँदै आएको विषयलाई लिएर कांग्रेसभित्रै परिवारवादको चर्चा छ। साथै, उनको मतदाता नामावली सुर्खेत क्षेत्र नम्बर–१ मा नरहेको विषय पनि सार्वजनिक बहसको विषय बनेको छ। “आफूले आफूलाई भोट हाल्न नसक्ने उम्मेदवारलाई यहाँका मतदाताले किन रोज्नेरु” भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह पनि विगतमा कांग्रेसबाट उम्मेदवार बनेका थिए। सिंह र खड्का दुवैको शैक्षिक योग्यता ‘टेस्ट पास’ मात्र रहेको भन्दै बौद्धिक जमातले उत्साहजनक समर्थन नदेखाएको टिप्पणी भइरहेको छ।
यसबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवि किरण हमाल नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन्। जेन्जी आन्दोलनबाट उदाएका हमाल राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका र सबैभन्दा कान्छा उम्मेदवारमध्येका एक भएका कारण युवा तथा शिक्षित मतदातामाझ आकर्षण बढेको बताइन्छ।
समग्रमा, सुर्खेत–१ मा यसपटकको निर्वाचन पुराना अनुहार र पारिवारिक निरन्तरतामाथिको असन्तुष्टि तथा नयाँ पुस्ताको दाबीबीचको प्रतिस्पर्धाका रूपमा विकसित हुँदै गएको देखिन्छ। अन्तिम परिणाम भने मतदाताको निर्णय र मतदान प्रतिशतले तय गर्नेछ ।
प्रतिक्रिया