तुलसीपुरमा प्रहरीको छापा,आचारसंहिता विपरितका सामग्रस् बरामद

बुधबार, १३ फागुन २०८२, १५ : ३५

काठमाडौं - निर्वाचन आचारसंहिता विपरित कार्य भएको भन्दै तुलसीपुर दाङका विभिन्न पसलमा प्रहरीले छापा मारेको छ । प्रहरीले बालेनको फोटो छापिएका भेष्टहरु बरामद गरेको छ । यस क्रममा प्रहरीले बिक्रीका लागि राखिएका ५१ थान भेष्टहरु बरामद गरेको दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता २०८२ अनुसार निर्वाचनलाई नै प्रभावित पार्ने गरि कुनै पनि उम्मेदवारको फोटो, चुनाव चिन्ह भएको टोपी, भेष्ट, टिसर्ट प्रयोग गर्न नपाइने भएकाले उम्मेदवारको फोटो भएको भेष्ट बरामद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । फागुन १८ गते पर्ने होली पर्व लक्षित भेष्ट बजारमा ल्याए पनि यसले २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने भन्दै बरामद गरिएको हो ।

म नेपाल हाँसेको हेर्नु चाहन्छु र ह्यापी होली लेखेका बालेन र रविका फोटो सहितका भेष्टहरु बजारमा बिक्रीमा लागि सजाएर राखेको देखेपछि प्रहरीले कडाइ गरेको हो । प्रहरीले उम्मेदवारको फोटो राखिएका भेष्टहरुको खोजी कार्य तीब्र पारेको छ । पहिलो पटक भेटिएमा बरामद गर्ने र दोस्रोपटक पनि भेटिएमा कानुन् अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । यसैबीच प्रहरीले बजारमा उम्मेदवारको फोटो भएका टिर्सट, जकेट, क्याप, सर्ट पसलमा बिक्रीका लागि राखेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न पनि आम नागरिकलाई आग्रह गरेको छ । सूचना दिने व्यक्तिको नाम गोप्य राखिने प्रहरीले बताएको छ । 
 

बुधबार, १३ फागुन २०८२, १५ : ३५

प्रतिक्रिया