जेनजी आन्दोलन

जेनजी आन्दोलनमा गोली चलाउने आदेश तत्कालीन प्रहरी प्रमुख खापुङले दिएको बीबीसीको खुलासा

विहीबार, १४ फागुन २०८२, १३ : ०९

काठमाडौं- गत भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट गोली चलाइएको घटनाबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बीबीसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको आदेशपछि मात्रै बल प्रयोग गरिएको दाबी गरिएको छ ।

बीबीसीको दाबीअनुसार उसले घटनासँग सम्बन्धित प्रहरीको आन्तरिक कागजात फेला पारेको छ । उक्त कागजातमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने अधिकारीले कर्फ्यू लागू भएको करिब १० मिनेटपछि फिल्डमा खटिएका प्रहरी अधिकृतहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन दिएको उल्लेख छ । प्रहरी सञ्चार प्रणालीमा ‘पिटर १’ कल साइन प्रहरी महानिरीक्षक ९आईजीपी० लाई जनाउन प्रयोग गरिन्छ ।

रिपोर्टमा फिल्डमा रहेका अधिकारीहरूले पटक–पटक गोली चलाउन अनुमति मागेको र त्यसपछि आदेश दिइएको विवरण समेटिएको छ । सो दिन भएको गोलीकाण्डमा १९ जनाको ज्यान गएको थियो, जसमा विद्यालय पोशाकमा रहेका एक किशोरसमेत थिए । उनी भीडबाट फर्किने क्रममा टाउकोको पछाडिबाट गोली लागेर ढलेका थिए ।

बीबीसीले चार हजारभन्दा बढी भिडियो र तस्बिरको विश्लेषण गरी घटनाको समयरेखा तयार पारेको जनाएको छ । जेन–जी नामले चिनिने युवा पुस्ताले नेतृत्व गरेको उक्त प्रदर्शनमा गोली चलेपछि आन्दोलन थप उग्र बनेको थियो ।

घटनापछि भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायत सरकारी संरचनामा आगजनी तथा तोडफोड गरेका थिए ।

यस घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा आयोग गठन गरिएको छ । आयोगले अनुसन्धान जारी राखेको भए पनि प्रतिवेदन सार्वजनिक हुन अझै बाँकी छ ।

उक्त गोलीकाण्ड प्रकरणमा अहिलेसम्म पनि छानसबिन आयोगले प्रतिवेदन सार्वजनिक नगर्दा कुनै व्यक्ति विरुद्ध पनि औपचारिक कारबाही अघि बढाइएको छैन ।

 
 
 
विहीबार, १४ फागुन २०८२, १३ : ०९

प्रतिक्रिया