प्याब्सन र डिजी होल्डिङ ग्रुपले डिजिटल साक्षरतामा सहकार्य जारी राख्ने

विहीबार, १४ फागुन २०८२, १४ : ४०

काठमाडौं- निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुपबीच डिजिटल साक्षरता अभियानका लागि तीन वर्षे रणनीतिक साझेदारी सम्झौता नवीकरण गरिएको छ । यो सहकार्यले निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल रूपान्तरणलाई संस्थागत र दिगो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सम्झौताअनुसार डिजी होल्डिङ ग्रुपले आफ्नो शैक्षिक प्रविधिलाई प्याब्सन डिजिटल इकोसिस्टम पीडीइको विकास, स्तरोन्नतिमा सहयोग गर्नेछ । प्याब्सन डिजिटल इकोसिस्टम पीडीइले विद्यालय प्रशासन, शैक्षिक व्यवस्थापन तथा सञ्चार प्रणालीलाई एउटै डिजिटल संरचनामा एकीकृत गर्ने लक्ष्य लिएको  छ ।

प्याब्सनसँग भएको सहमति अनुसार वेब-आधारित प्रणाली, एन्ड्रोइड तथा आईओएस मोबाइल एप्लिकेशन, परीक्षा व्यवस्थापन प्रणाली, विद्यार्थी तथा विद्यालय दर्ता प्रणाली, शिक्षक–अभिभावक–विद्यालयबिचको सञ्चार संयन्त्र, इभेन्ट व्यवस्थापन प्रणाली तथा डिजिटल भुक्तानी एकीकरणजस्ता  विषयहरू समावेश गरिएका छन् । यसले विद्यालयको दैनिक प्रशासनिक कार्यदेखि शैक्षिक मूल्याङ्कन र वित्तीय व्यवस्थापन सम्मलाई डिजिटल माध्यमबाट सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार प्याब्सनले आफ्ना केन्द्रीय, प्रादेशिक, जिल्ला तथा स्थानीय तहका समितिहरूमा पीडीई प्रणालीको कार्यान्वयनलाई प्राथमिकतामा राख्नेछ । साथै प्याब्सन अन्तर्गत आबद्ध सदस्य विद्यालयहरूमा उक्त प्रणालीको प्रयोगलाई प्रवर्द्धन गर्दै, डिजिटल व्यवस्थापनलाई क्रमशः अनिवार्य अभ्यासको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

शिक्षामा डिजिटल प्रविधिको बढ्दो आवश्यकता, प्रविधिमैत्री शिक्षा प्रणालीको महत्त्व र डिजिटल साक्षरताले भविष्यका पुस्तालाई कसरी सक्षम बनाउँछ भन्ने विषयमा जोड दिइएको डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

डिजिटल प्रणालीले विद्यालय प्रशासनलाई सहज बनाउनुका साथै शिक्षकलाई आधुनिक शिक्षण विधि अपनाउन र विद्यार्थीलाई प्रविधिसँग जिम्मेवार र सिर्जनात्मक रूपमा जोड्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । डिजिटल रूपान्तरण अब विकल्प नभई आवश्यकता बनिसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विद्यालय तहदेखि नै सुरक्षित, जिम्मेवार र प्रभावकारी डिजिटल अभ्यासको विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

नवीकरण गरिएको सम्झौताअनुसार डिजी ग्रुपले आवश्यक प्राविधिक पूर्वाधार, सफ्टवेयर विकास तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने प्याब्सनले आधिकारिक समर्थन, संस्थागत सहकार्य र आफ्नो विस्तृत सञ्जालमार्फत बजार पहुँच प्रदान गर्नेछ ।

प्याब्सन र डिजी ग्रुपबिच भएको साझेदारीले नेपालभरका निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल साक्षरता, शैक्षिक प्रशासनको आधुनिकीकरण, परीक्षा प्रणालीको विश्वसनीयता, प्रभावकारी सञ्चार तथा डिजिटल वित्तीय व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

 
विहीबार, १४ फागुन २०८२, १४ : ४०

प्रतिक्रिया