प्रतिनिधिसभा निर्वाचन

चुनावमा भोट हाल्न काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, २० गतेसम्म सवारी साधन चल्ने

शुक्रबार, १५ फागुन २०८२, १६ : ३८

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको छ । विभिन्न पेसा–व्यवसायमा आबद्ध भई उपत्यकामा बसोबास गरिरहेका मतदाता मतदानका लागि गाउँ जाने तयारीमा जुटेका छन् ।

निर्वाचन आयोग ले निर्वाचनको दिन शान्ति र सुव्यवस्था कायम राख्ने उद्देश्यले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । आयोगको यो निर्णयसँगै यात्रुहरू अग्रिम रूपमा घर फर्किन थालेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार निर्वाचनको अवसरमा करिब ७ देखि ८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ । उनका अनुसार केही दिनयता यात्रुको चाप बढ्दो क्रममा छ र आगामी दिनमा अझै वृद्धि हुने देखिएको छ ।

विशेषगरी मधेस प्रदेश तर्फ जाने सवारी साधनमा अत्यधिक भीड देखिएको छ । निर्वाचनसँगै होली पर्वसमेत नजिकिएकाले यात्रु चाप दोब्बरजस्तै भएको व्यवसायीहरू बताउँछन् ।

आयोगका अनुसार तोकिएको अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय तथा विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतसम्बन्धी सवारी भने निर्बाध सञ्चालन गर्न पाइनेछ । अन्य सवारी साधन भने आयोगबाट विशेष पास लिएपछि मात्र सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा राजधानीका बसपार्कहरूमा यात्रुको भीड बढ्दै गएको छ ।

शुक्रबार, १५ फागुन २०८२, १६ : ३८

प्रतिक्रिया