दाङ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बबई गाउँपालिकाको आयोजनामा हंसपुरमा चुनावी सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले मुलुकको विकास र राजनीतिक निकासको लागि राप्रपा नै सक्षम विकल्प भएको दाबी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपालाई अत्यधिक मतले विजयी गराउन कार्यकर्ता तथा मतदातालाई अपिल गरेका छन्।
राप्रपा ववई गाउँपालिका कार्यसमितिका अध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा बोल्दै भण्डारीले देशभर राप्रपाको जनलहर देखिएको दाबी गरे। उनले दाङ प्रतिनिधिसभा क्षेत्र नं. ३ मा पार्टीका उम्मेदवार दामोदर भण्डारीलाई हलो चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन आग्रह गरे। धर्म र संस्कृतिको संरक्षणका लागि राप्रपालाई विजयी गराउनु आवश्यक रहेको उनको भनाइ थियो ।
पूर्वमन्त्री भण्डारीले पुराना तथा नयाँ अनुहारको नाममा निर्वाचन जित्दै आएका दलहरूले मुलुकको विकास गर्न नसकेको आरोप लगाए। उनले देशमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। अवसर पाए २०४५ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको उनको आरोप थियो। वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भएको दाबी गर्दै उनले व्यवस्था र नेतृत्व परिवर्तन आवश्यक रहेको जिकिर गरे।
त्यस्तै, राप्रपाका सहमहामन्त्री हिक्मत ढकालले मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेको भन्दै लोकतन्त्र, धर्म–संस्कृति संरक्षण र विकासका लागि राप्रपालाई मतदान गर्न आग्रह गरे। उनले अस्पताल बने पनि डाक्टरको अभाव र विद्यालय भए पनि गुणस्तरीय शिक्षाको अभाव रहेको उल्लेख गर्दै भौतिक संरचना मात्र देखाएर जनतालाई भ्रममा पारिएको आरोप लगाए। आगामी निर्वाचनमा राप्रपालाई विजयी बनाए विकासका काम क्रमशः अघि बढाइने उनको भनाइ थियो। राप्रपा देशको आवश्यकता भएको उल्लेख गर्दै उनले वृद्धदेखि युवासम्म पार्टीप्रति आकर्षण बढेको बताए।
कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. ३ का उम्मेदवार दामोदर भण्डारीले संघीयता खारेजी र हिन्दुराष्ट्र स्थापना राप्रपाको मूल उद्देश्य भएको बताए। आफूले भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित उम्मेदवार बनेको उल्लेख गर्दै उनले ढुक्क भएर राप्रपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार शिव चौधरीले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्दै विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै राप्रपालाई विजयी गराउन अपिल गरे। निर्वाचनपछि विकासका कामहरू क्रमिक रूपमा अघि बढाइने उनले बताए।
सभामा केन्द्रीय सदस्य मधुसूदन केसी, केन्द्रीय सदस्य विश्वदेव शाह, निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (क) अध्यक्ष लक्ष्मण केसी, प्रदेशसभा (ख) अध्यक्ष श्रीमणी न्यौपाने, तुलसीपुर उपमहानगरपालिका अध्यक्ष पर्वत बस्नेत लगायत नेता–कार्यकर्ता सहभागी थिए।
क्षेत्रीय सदस्य कृष्णबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बबई गाउँ कमिटीका सचिव कृष्ण रोकाले गरेका थिए ।



प्रतिक्रिया