नेपाल टेलिकमले आफ्ना मोबाइल ग्राहकहरुका लागि एकैपटक धेरै व्यक्तिलाई सन्देश (एसएमएस) पठाउन सकिने ग्रुप एसएमएसु सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्तर्गत ग्राहकले एकै पटक २ हजार,५ हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् । एउटै सन्देश धेरै जनालाई पठाउनुपर्ने विभिन्न संघसंस्था वा व्यक्तिका लागि यो सेवा निकै प्रभावकारी र उपयोगी हुने कम्पनीले जनाएको छ ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिअनुसार यस सेवाका लागि ग्राहकको सहजतालाई ध्यानमा राख्दै विभिन्न तीन वटा प्याकेजहरु उपलब्ध गराइएको छ । जसअनुसार ग्राहकले करसहित रु। १,२४३ मा २ हजार वटा एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी, रु। ३,१०८ मा ५ हजार एसएमएस र रु। ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।
यो सेवा प्रयोग गर्नका लागि टेलिकमले केही अनिवार्य सर्तहरु समेत तोकेको छ । सेवाग्राहीले ग्रुप एसएमएस पठाउनका लागि अनिवार्य रूपमा आफ्नै (प्रयोगकर्ताकै) नाममा दर्ता भएको सिमकार्ड प्रयोग गरेको हुनुपर्नेछ । यसका साथै, प्रेषित गरिने सन्देशको शब्द, भाव र त्यसले पार्ने प्रभावलगायत सम्पूर्ण विषयको पूर्ण जिम्मेवारी सन्देश पठाउने व्यक्ति वा संस्था स्वयम्ले लिनुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।
यस सेवाको प्रयोग गर्ने तरिका पनि निकै सहज रहेको छ । ग्राहकले आफ्नो मोबाइल, डेस्कटप वा ल्यापटपमार्फत टेलिकमको आधिकारिक वेब पोर्टल groupsms.ntc.net.np मा लगइन गरी सेवा लिन सक्नेछ । उक्त पोर्टलमा लगइन गरेपछि आफूलाई आवश्यक पर्ने प्याकेज खरिद गर्न सकिन्छ । प्याकेज खरिद गरेपश्चात् ग्राहकले सन्देश पठाउन चाहेका मोबाइल नम्बरहरु एक्सल सिट मार्फत अपलोड गरी एकैपटकमा हजारौँ व्यक्तिलाई सन्देश पठाउन सक्ने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया