चुनावी चर्चा

आत्मबल कमजोर भएपछि भ्रमको कथा बुन्दै राजन दाहाल, ‘म्याचफिक्सिङ’को चर्चाले तात्यो सिन्धुली–२

सोमबार, १८ फागुन २०८२, १५ : ५४

सिन्धुली- निर्वाचन नजिकिँदै जाँदा सिन्धुली–२ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीमा वरिष्ठ नेता हरिबोल गजुरेल सहित महेश्वर दाहाल, वसन्त माझी, पानीराज बम्जन, दीर्घराज श्रेष्ठ र विनोद बिक लगायतको टोलीले विद्रोह गरेपछि जिल्ला संगठन थिलथिलो बनेको बताइएको छ । आन्तरिक असन्तोष सार्वजनिक भएसँगै सिन्धुली–२ का उम्मेदवार लेखनाथ दाहाल दबाबमा परेको राजनीतिक वृत्तको विश्लेषण छ ।

संगठनभित्रको विद्रोहपछि बाहिर पनि अनुकूल माहोल नबनेको टिप्पणी भइरहेका बेला दाहालले निराश कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेसबाट समेत मान्छे ल्याउने दाबी गरेको चर्चा चलेको छ । आलोचकहरूले भने यसलाई ‘आत्मबल कमजोर भएपछि बुनेको भ्रमको कथा’का रूपमा व्याख्या गरेका छन् ।

राजन दाहाल निकट स्रोतका अनुसार उनले वैकल्पिक समर्थन विस्तारको सन्देश प्रवाह गरिरहेका छन् । विरोधी पक्षले भने स्थानीय सत्ता दुरुपयोग, झुटा आश्वासन बाँड्ने तथा मत खरिद–बिक्रीको प्रयास भइरहेको आरोप लगाएका छन् । चुनावको अन्तिम अवस्थासम्म जितको स्पष्ट आधार नदेखिएपछि उनले सिन्धुली–२ को आफ्नो जनमत देखाउँदै नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूसँग ‘म्याचफिक्सिङ’को प्रयाससमेत गरेको बताएर ढाडस दिइरहेका छन् ।

यसै सन्दर्भमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘संविधान र शान्ति प्रक्रिया जोगाउन आवश्यक परे कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैबीच, प्रचण्ड निकट मानिएका लेखनाथ दाहाल ले मरिण गाउँपालिकामा आयोजित आन्तरिक बैठकमा आफूलाई जिताउन कांग्रेसका विभिन्न स्थानीय नेताहरूले सहयोग गर्ने दाबी गरेको गोप्य स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कमलामाई नगरपालिकाबाट कांग्रेस जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल, सचिव ईश्वर बस्नेत, प्रदेश सभापति विजय कुँवर, सुनकोशी गाउँपालिकाबाट उपाध्यक्ष कपिल कोइराला र चन्द्र श्रेष्ठ, घ्याङलेक गाउँपालिकाबाट उत्तरकुमार वाइबा, जगत बहादुर भोलन र रामकाजी वाइबास मरिण गाउँपालिकाबाट सहदेव मैनाली तथा हरिहरपुरगढी गाउँपालिकाबाट उपाध्यक्ष चेख बहादुर थिङले सहयोग गर्ने सन्देश आएको दाबी गरिएको छ ।

तर, नेपाली कांग्रेसका एक जिल्ला नेताले यस्तो दाबी अस्वीकार गर्दै निर्वाचनमा हार–जितभन्दा लोकतान्त्रिक मूल्य जोगाउनु प्राथमिकता भएको बताए । ‘हामी निष्पक्ष निर्वाचनमार्फत दुवै क्षेत्रमा विजय चाहन्छौं, म्याचफिक्सिङमा सहभागी हुँदैनौं,’ उनले भने । अघिल्ला गठबन्धन फेरबदलले नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठाएको उनको तर्क छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार संगठनात्मक पकड कमजोर हुँदा नेतृत्वले मनोवैज्ञानिक प्रभाव पार्ने रणनीति अपनाउने गर्छ । दाहाल पक्षले कांग्रेसभित्रको असन्तुष्टि र गुटगत खिचातानीलाई आधार बनाएर मत स्थानान्तरणको सन्देश फैलाइरहेको आरोप छ । तर स्थानीय विश्लेषणले मत स्थानान्तरण सहज नहुने, उम्मेदवारको छविले निर्धारण हुने बताइन्छ ।

सिन्धुली–२ मा बढ्दो आरोप–प्रत्यारोप र ‘म्याचफिक्सिङ’को चर्चाबीच निर्वाचन परिणाम कता मोडिने हो भन्ने विषयमा सर्वत्र चासो केन्द्रित भएको छ । जिल्ला पार्टीको बलियो समर्थन र स्वच्छ छवि र पुरानो नेता महेश्वर दाहालको उम्मेदवारीले लेखनाथ दाहाल ‘डे वान’देखि दबावमा छन् । यो निर्वाचनमा हरिबोल गजुरेलका विरूद्ध प्रचण्ड आफै लडेको देखिएकाले लेखनाथको हारजीतमा प्रचण्डको प्रतिष्ठा जोडिएको धेरैले बताएका छन् ।

 
 
सोमबार, १८ फागुन २०८२, १५ : ५४

प्रतिक्रिया