‘यति ठूलो प्रहार थियो कि घर हल्लियो’

मंगलबार, १९ फागुन २०८२, १२ : ५५

इरानका बासिन्दाहरूले इजरेल र अमेरिकाले देशैभरि बम आक्रमणको निशाना बनाएको बारेमा आफ्नो अनुभव सुनाइरहेका छन्।

समर्थक र विपक्षीहरूलाई स्तब्ध तुल्याउने गरी शनिवार बिहान आक्रमण सुरु भएको थियो जसमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिए।

त्यसपछि सैन्य र रणनीतिक महत्वका स्थानहरूमा दिनरात आक्रमण भएका छन्।

अधिकारीहरूले इन्टरनेट सेवा बन्द गरेका छन्, जसले मानिसहरूलाई बाह्य संसारसँग कुराकानी गर्न निकै कठिन तुल्याइदिएको छ।

उक्त प्रतिबन्धकाबीच बीबीसीले केही व्यक्तिसँग कुराकानी गरेको छ।

अनुहारमा आक्रोश र क्रोध

राजधानी तेहरानको पश्चिमस्थित कराज सहरका हुसेनले सोमवार आफ्नो घर नजिकै ठूलो विस्फोट भएको सुनाएका छन्।

‘उनीहरूले कराजमा यति ठूलो प्रहार गरे कि घर हल्लिरहेको थियो। मैले ठूलो विस्फोटनको आवाज सुनेँ (र) म कतै सुरक्षित हुने प्रयास गर्दै छु ।’

उनका अनुसार राति धेरै सरकार समर्थकहरू सडकमा थिए। उनको भनाइ छ, ‘मैले उनीहरूको अनुहारबाट उनीहरू आक्रोशित र क्रोधित देखेँ ।’

‘सडकहरू व्यस्त छैनन्, र मानिसहरू आआफ्ना घरमै छन्, तर अहिले इन्टरनेटमा गरिएको अवरोधले मानिसहरूलाई क्रोधित तुल्याएको छ। सरकारले यस वर्ष इन्टरनेट सेवा बन्द गरेको यो तेस्रो पटक हो,’ हुसेनले भने, ‘मलाई लाग्छ आईआरजीसी (इस्लामिक रिभोलुसनरी गार्ड कोर) सँग अझै पनि स्थल शक्ति छ, र त्यसले केही मानिसहरूलाई त्रसित बनाउने गरेको छ ।’

इरानमा भएको विरोधप्रदर्शन ‘अभूतपूर्व’ मानिनुका पाँच कारण
खामेनेईको मृत्यु र उनले हालैको विरोध प्रदर्शनका क्रममा धेरैको मानिसको हत्या गरेको विषयले सरकार समर्थक र विरोधी जनताबीच पहिलेदेखि नै रहेको विभाजनलाई फराकिलो बनाइदिएको हुसेनको बुझाइ छ।

‘मानिसहरूले किराना पसलबाट सक्ने जति सामानहरू किनमेल गर्दै भण्डारण गरिरहेका छन्। जब उनीहरूले आक्रमण गर्छन्, हामी सबै घरमा बसेर त्यो विस्फोटनको आवाज सुनिरहेका छौँ। तर हाम्रो सम्पर्क टुटेको छ,’ आमिर भन्छन्, ‘यो सबै कुरा कति जना मुख्य व्यक्तिहरू मारिन्छन् भन्नेमा निर्भर गर्छ, तर (इरानका नेताहरूले) सम्झौता गर्लान् भन्ने चिन्ता हामीलाई छ ।’

बीबीसी न्यूज नेपाली 

 
मंगलबार, १९ फागुन २०८२, १२ : ५५

प्रतिक्रिया