काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अघि बढेको छ ।
मध्यरातबाट सुरु भएको मतगणनाको बिहान ९ बजेसम्मको अपडेटमा रास्वपा कम्तीमा ५२ निर्वाचन क्षेत्रमा फराकिलो मतसहित अग्रता लिइरहेको छ । रास्वपाका सभापति रवि लामिछाने, बरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहितका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पछि परेका छन् । रुपन्देही क्षेत्र नं २ का ताजा मतगणनामा रास्वपाले शुरुवाती अग्रता लिएको छ । तिलोत्तमा वडा नं १ को मतगणना सकिँदा रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६०९ मत पाएका छन् ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि परेका छन् । यस क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् । बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो ।
भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि परेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले निरन्तर मत अगाडि बढाइरहेका छन् । बिहान ५ बजेसम्मको मत गणना अनुसार खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका कबीर रानाले १७४ मत सहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया