काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ चार प्रमुख राजनीतिक दलले थ्रेसहोल्ड पार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपाले आवश्यक मत प्राप्त गर्दै संसद्को समानुपातिक सिटका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन्।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपाले सबैभन्दा बढी ३९ लाख ५० हजार ८१० मत प्राप्त गरेको छ। त्यसपछि कांग्रेसले १३ लाख ३० हजार १०१ मत पाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ७९ हजार ६२६ मत हात पारेको छ।
यता श्रम संस्कृत पार्टीले २ लाख ८७ हजार ६४५ मत प्राप्त गरेको छ। उक्त दल थ्रेसहोल्ड पार गर्ने वा नगर्ने अवस्था भने अन्तिम मतपरिणामपछि मात्रै स्पष्ट हुने देखिएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १ करोड ९ लाख मत खसेका छन्। संविधानअनुसार समानुपातिक सिट प्राप्त गर्न कूल सदर मतको कम्तीमा ३ प्रतिशत मत हासिल गर्नुपर्ने व्यवस्था छ, जसलाई ‘थ्रेसहोल्ड’ भनिन्छ।
यो सीमा पार गर्ने दलहरूले मात्रै प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँटमा सहभागी हुने व्यवस्था रहेको छ।
प्रतिक्रिया