काठमाडौं - विभिन्न अन्योल र आशंकाकाबीच भएको निर्वाचनले अवश्य पनि मुलुकलाई एउटा निकास दिने नै छ । निर्वाचनको परिणाम अपेक्षित नै छ । यद्यपी रास्वपा एक्लै दुई तिहाई बहुमतको नजिक पुग्ला भन्ने अनुमान भने कसैले पनि गरेको थिएन ।
पुराना दलहरुको कार्यशैली र तीन दलको म्युजिकल रेसबाट जनता कति आजित भएका रहेछन् भन्ने यस निर्वाचनको परिणामले देखाएको छ । यो निर्वाचनमा एमाले, कांग्रेस र प्रचण्डको पार्टीको पत्तासाफ भएको छ । तर पनि यी दलका प्रमुख नेताहरुको घैंटोमा घाम लाग्ने देखिएको छैन । अब पनि यिनीहरुले आफूलाई सच्याएनन् भने आगामी दिनमा अवशेष पनि रहनेछैन ।
यस निर्वाचनले सबैभन्दा घाटा प्रचण्डलाई पुर्याएको छ । उनको अन्तिमसम्म पनि कसैको बहुमत आउनेछैन र आफ्नो हातमा फेरि पनि ‘म्याजिक नम्बर’ हात लाग्नेछ भन्ने आशा थियो । बिगतमा कांग्रेस–एमालेलाई खेलाए जस्तो रास्वपालाई पनि खेलाउँछु भन्ने लागिरहेको थियो । तर निर्वाचन परिणामले उनको म्याजिक नम्बर खोसेको छ । यसबाट उनको अवसरवादी राजनीतिलाई पूर्णविराम पनि लागेको छ ।
राजनीतिमा इमान र नैतिकता पनि हुन्छ भन्ने मान्यतालाई स्विकार गर्ने हो भने अब ठूला दलका मुखियाहरुले मार्गप्रशस्त गरिदिनुपर्छ । वर्षौंदेखि एउटै अनुहार देखेर वाक्कदिक्क भएका कार्यकर्ताहरुले पनि यसपटक रास्वपालाई मत हालेको प्रष्ट भैसकेको छ । आम नागरिकलाई त झन कति एलर्जि भयो होला ? आफू उभिएको जमिन भासिन लाग्दा पनि थाहा नपाउने नेतृत्वलाई के संज्ञा दिने होला ? अझै पनि प्रचण्डमा सत्ताको भोक मेटिएको छैन ।
मुलुक अब स्थायी सरकारको बाटोमा गएको छ । यसलाई जिम्मेवार नेताहरुले सहयोग नै गर्नुपर्दछ । तर प्रचण्ड भन्दैछन्, ‘रास्वपाको नेतृत्व मैले नै गर्नुपर्ला जस्तो छ ।’ यस भनाईमा उनको कुटिलता मात्र लुकेको छैन, न्यूनतम राजनीतिक नैतिकता पनि रहेको देखिदैन । उनी आजका दिनसम्म नेपाली कम्युनिष्ट पार्टीका संयोजक हुन । रास्वपाको नेतृत्व गर्नलाई उनी आफ्नो पार्टी छोडेर रास्वपा प्रवेश गर्नुपर्छ । त्यतिले मात्र पुग्दैन उनलाई उक्त पार्टीले अध्यक्ष बनाउनु पर्दछ ।
हरुवा गोरुको छेरुवा दाउ भने जस्तो उनी आफूलाई नहेप्न भन्दैछन् । उनी अहिले पनि जङ्गलको सिंह हुन रे । सबैले देखिसके सिंहको हालत स्यालभन्दा पनि गए गुज्रेको भैसक्यो । तर पनि उनले आत्मरति लिन छोडेका छैनन् । यदि उनी सिंह नै हुन्थे भने देशैभरिबाट बढारिनुपर्ने थिएन । २२ वटा दलसँग एकता गरेर बनाएको पार्टीको लज्जास्पद पराजय भैसक्दा पनि अझैं एउटा दुई तिहाई बहुमत ल्याएको अर्कै दलको नेतृत्व गर्न तम्सिनु कस्तो बिडम्बना हो ? जम्मा सात सिटमा चित्त बुझाउनु परेको छ । त्यसमा पनि आफू सुरक्षित स्थान खोज्दै दूर दराज पूर्व रुकुममा पुगेर जित्नुपरेको छ । अझैं पनि डंका पिटेकै छन् ।
यस्तै ताल हो भने अर्को पटक प्रचण्डको लागि सुरक्षित स्थान मुलुकको कुनै निर्वाचन क्षेत्रमा रहनेछैन । बरु आफ्नो हारलाई सहज रुपमा स्विकार गरेर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नु नि । निर्वाचित सरकारलाई सहयोग गरेर जनमतको सम्मान गर्नु नै राजनीतिक परिपक्वता हुनेछ । निर्वाचित रास्वपाको सरकारले आफ्नो प्रतिवद्धता र जनअपेक्षा अनुसार काम गर्न सकेन भने यो जनमत स्थायी रहनेछैन । सत्तामा नगएर पनि देश र जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने मान्यता पुराना दलहरुले देखाउन सक्नुपर्दछ ।
प्रतिक्रिया