के इरान विश्वकप खेल्न अमेरिका जाला ?

विहीबार, २८ फागुन २०८२, १५ : १४

इरान आसन्न विश्वकप फुटबल २०२६ मा सहभागी हुन सक्ने परिस्थितिमा नभएको इरानी खेलकुद तथा युवामन्त्री अहमद दन्यामलीले बताएका छन्।

आगामी जुन ११ मा आरम्भ हुने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेका छन्।

समूह चरणमा इरानको पहिलो खेल न्यूजील्यान्डसँग जुन १५ मा, दोस्रो खेल बेल्जमसँग जुन २१ मा र तेस्रो खेल इजिप्टसँग जुन २६ मा हुने तय भएको छ। फिफाले पहिला दुई खेल लस एन्जलिसमा र तेस्रो खेल सियाटलमा हुने जनाएको छ।

तर अमेरिका र इजरेलले इरानमा आक्रमण गर्न थालेपछि उक्त देशको राष्ट्रिय टोली विश्वकपमा सहभागी होला कि नहोला भनेर संशय उत्पन्न भएको छ। आक्रमणमा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको पनि मृत्यु भएपछि इरानले इजरेल र मध्यपूर्वका अरू देशमा अवस्थित अमेरिकी सैन्य शिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो।

फिफा अध्यक्ष जानी इन्फ्यान्टीनोले आफूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विश्वकपको तयारी र इरानमा विद्यमान अवस्थाबारे छलफल भएको जानकारी र प्रतियोगितामा इरानको सहभागिताबारे उनी सकारात्मक भएको बताएका छन्।

‘छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इरानी टोलीले प्रतियोगितामा पक्कै पनि भाग लिन पाउँछ भन्ने कुरा दोहोर्‍याए,’ इन्फ्यान्टीनोले इन्स्टाग्राममा बुधवार लेखेका छन्।

त्यसअघि आईआरआईबी स्पोर्ट्स नेटवर्कलाई मङ्गलवार दिएको अन्तर्वार्तामा इरानी मन्त्री दन्यामालीले ‘यो भ्रष्ट सरकारले हाम्रा नेतालाई मारेको हुनाले कुनै पनि हालतमा हामी विश्वकपमा सहभागी हुने उपयुक्त अवस्था छैन’ भनेका थिए।
‘हाम्रा खेलाडीहरू सुरक्षित छैनन् अनि सहभागी हुने अवस्था छैन ।’

‘विगत आठ वा नौ महिनामा हामीविरुद्ध दुइटा युद्ध भए अनि हाम्रा हजारौँ मानिस मारिए, शहीद भए। तसर्थ हामी सहभागी हुने सम्भावना छैन ।’

अहिले मानिसहरूलाई एकताबद्ध गर्न पहिलाको भन्दा अझ बढी फिफा विश्वकपजस्तो कार्यक्रम आवश्यक भएको भन्दै इन्फ्यान्टीनोले लेखेका छन्, ‘एक पटक फेरि फुटबलले विश्वमा एकताबद्ध गर्न लागेको बेला म संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई उहाँले गर्नुभएको सहयोगका लागि धन्यवाद दिन्छु ।’

यदि इरानले प्रतियोगितामा सहभागी नहुने निर्णय गर्‍यो भने फिफाको विद्यमान नियमानुसार अर्को टोलीलाई खेल्ने अवसर दिन सक्छ। त्यस्तो अवस्थामा त्यो कुन देश हुन्छ भन्ने चाहिँ स्पष्ट छैन।

एशियाली फुटबल महासङ्घका इराक र यूएईमध्ये एउटा टोलीले त्यस्तो अवसर पाउन सक्ने ठानिएको छ। इराक यो महिना हुने प्ले-अफ खेलबाट आफैँ छनोट हुन सक्छ। यूएईले भने त्यो बाटो गुमाइसकेको छ।

यद्यपि फिफाको नियममा कुनै देश प्रतियोगितामा सहभागी नहुने भए त्यसको सट्टामा अवसर पाउने टोली सोही क्षेत्रको हुनैपर्छ भन्ने छैन।

बीबीसी न्यूज नेपाली 

 
 
विहीबार, २८ फागुन २०८२, १५ : १४

प्रतिक्रिया