कार्यकाल सम्पन्न हुने क्रममा नाडा अध्यक्ष चौधरीद्वारा सबैप्रति आभार व्यक्त

विहीबार, २८ फागुन २०८२, १३ : ५३

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले आफ्नो कार्यकाल सम्पन्न हुने क्रममा सबैप्रति आभार व्यक्त गरेका छन्।

चौधरीले सञ्चार क्षेत्रले अटोमोबाइल उद्योगसँग सम्बन्धित नीतिगत बहस, सुधारका प्रयास, चुनौती तथा सम्भावनाहरूलाई सन्तुलित र तथ्यपरक रूपमा सार्वजनिक गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उनले समाजमा सूचना प्रवाह मात्र नभई नीति, अर्थतन्त्र र उद्योग–व्यवसायसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्न सञ्चार माध्यमले उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरे।

उनले आफ्नो कार्यकालमा नाडाले अघि सारेका कार्यक्रम, सुधार पहल तथा संस्थागत रूपान्तरणका प्रयासहरूलाई सञ्चार माध्यमबाट प्राप्त रचनात्मक सहकार्य र जिम्मेवार समाचार सम्प्रेषणले व्यापक जनमानस तथा सरोकारवाला निकायसम्म पुर्‍याउन सहयोग पुगेको बताए।

चौधरीले सञ्चारकर्मीहरूको व्यावसायिकता, निष्पक्षता र गम्भीरताले अटोमोबाइल क्षेत्रलाई स्वस्थ सार्वजनिक विमर्शको दायरामा राख्न सहयोग पुगेको उल्लेख गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गरेका छन्।

कार्यकाल समाप्त भए पनि सञ्चार क्षेत्रसँगको व्यावसायिक सम्बन्ध र पारस्परिक सम्मान आगामी दिनहरूमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै उनले राष्ट्रको आर्थिक तथा औद्योगिक विकासका विषयमा भविष्यमा पनि सहकार्य र संवादलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका छन्।

 
विहीबार, २८ फागुन २०८२, १३ : ५३

प्रतिक्रिया