काठमाडौं - पूर्वीय सभ्यतामा मात्र होइन संसारभरि नै शिक्षा दिने गुरुलाई श्रद्धापूर्वक सम्मान गर्ने गरिन्छ । भनिन्छ, बाबुआमापछिको मार्गदर्शक गुरु नै हुन । हरेक मानिसलाई शिक्षा दिएर गन्तव्यसम्म पुर्याउन शिक्षकहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । त्यसैले पनि होला,आफूलाई पढाउने गुरुलाई हरेक मानिसले श्रद्धा र सम्मान गरेकै हुन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारले शिक्षकको अपमान गर्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जाल तात्तिएको छ । शिक्षकहरुले ‘तिमीचाहिँ आमाको पेटबाट फुत्त निस्किएर माननीय भएका हौ ?’ भन्दै आक्रोश पोखेका छन् । उनी मात्र होइन, नेपालमा अहंकारी राजनीतिक नेता तथा कार्यकर्ताहरुले बेला बेलामा गुरुहरुलाई सार्वजनिक रुपमै अपमान गर्ने गरेका छन् । ती अपमान गर्नेहरुको कालान्तरमा भलो भएको भने देखिएको छैन ।
सुर्खेतमा केही युट्युबरसँग बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुनारले मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्ने अस्वभाविक अभिव्यक्ति दिएका थिए । ‘जसरी हिजो हामीलाई पढाउँदा कन्चटको रौँ समातेर, डस्टरले टाउकोमा ट्वाक्क हान्थे, त्यो मास्टरलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ’, उनले भनेका थिए, ‘त्यो मास्टरलाई अलि पढाइ नपुग्या हो, म पनि शिक्षा संकाय नै पढेर आएको हो, त्यसैले मलाई पनि थाहा छ कसरी पढाउने भनेर ।’
‘जसरी हिजो हामीलाई पढाउँदा कन्चटको रौँ समातेर, डस्टरले टाउकोमा ट्वाक्क हान्थे, त्यो मास्टरलाई उत्तानो पारेर त्यसको पैतालामा भाटा हान्नुपर्छ’,
आफूलाई दलित अभियन्ता दावी गर्ने सुनारले यसरी टिप्पणी गर्दै विद्यार्थीमा बदलाको नकारात्मक भावना फैलाएपछि सर्वत्र आलोचना भइरहेको छ । धेरै शिक्षकले ‘यस्तै दिमागमा बुध्दि पलाओस् भनेर सजाय दिएको हुनुपर्छ’ भनी कटाक्ष गरेका छन् । झण्डै दुई दशकदेखि अध्यापन गराउँदै आएका बालाराम खड्काले जेनजीले सुशासन चाहने भए पहिले सुनारको टाउकोमा घण्टी बजाउन आग्रह गरेका छन् । ‘ओली (केपी)लाई सरस्वतीले सराप्दा उत्तानो परे’, शिक्षक आन्दोलन स्मरण गर्दै उनले भनेका छन्, ‘अब तेरो पालो, बुबाआमा र गुरुजन्यको सराप लाग्छ, आफ्नो औकात देखाइस् ।’ उनको व्यवहारले उनीसम्बद्ध दल रास्वपालाई पनि बदनाम गरिरहेको बताइन्छ । देशको विधायिकाको सदस्यले यस प्रकारको असभ्यता प्रदर्शन गर्नु सार्वभौम जनताकै अपमान हो । यस्ता विधायकले मुलुकमा कुन प्रकारको थिति बसाल्ने हुन ? रास्वपाले चाहेको सुशासन यस्तै पाराले आउला त ?
सुनारको अभिव्यक्तिप्रति सर्वत्र आपत्ति जनाइएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले एक विज्ञप्ति जारी गर्दै सुनारलाई माफी माग्न र आगामी दिनमा बोल्दा ढंग पुर्याउन सजग गराएका छन् । ‘पदीय गरिमालाई समेत बिर्सिएर गरिएको यस अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै आफ्नो अभिव्यक्तिप्रति माफी माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न समेत सम्बन्धित व्यक्तिलाई सचेत गराउन चाहन्छौँ ।’
निर्वाचनअघि पनि सुनारले ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । उनको अभिव्यक्तिले रास्वपाका समर्थक नै चिढिएपछि पार्टीले विज्ञप्ति निकालेर सुनारलाई सचेत गराइएको बताएको थियो । अहिले फेरि सुनार शिक्षकमाथि तुच्छ टिप्पणी गरेर विवादमा तानिएका हुन् ।
प्रतिक्रिया