मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

आइतबार, ०१ चैत्र २०८२, १८ : ३२

काठमाडौं- मजदुरहरूले पसिनाले कमाएर जम्मा गरेको बचत रकम फिर्ता पाएका छैनन् । मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडको कार्यालय लामो समयदेखि बन्द रहेपछि आफ्ना बचत फिर्ता पाउने कि नपाउने भन्ने चिन्तामा मजदुरहरू परेका छन् ।

एयरपोर्टको ढुवानीमा कार्यरत तत्कालीन माओवादी केन्द्र निकटका थुप्रै मजदुरहरूले आफ्नो पार्टी सम्बद्ध ट्रेड युनियनका नेताहरूको विश्वासमा परेर भविष्य सुरक्षित हुने आशा राख्दै उक्त सहकारी रोजेका थिए । लामो समयको मेहनतबाट संकलन गरेको रकम सुरक्षित रहने विश्वासमा सहकारीमा जम्मा गरेको तर अहिले भने अवस्था उल्टिएको गुनासो मजदुरहरूले गरेका छन् ।

सुविधानगर तीनकुनेमा कार्यालय रहेको उक्त सहकारीका सीईओ रमेश थापालाई सम्पर्क गर्दा उनले यसबारेमा आफूभन्दा संस्थाका हर्ताकर्ता तथा ट्रेड युनियन नेता प्रकाश श्रेष्ठसँग कुरा गर्नुपर्ने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे । उनले सहकारी सञ्चालन र व्यवस्थापनसम्बन्धी विषयमा श्रेष्ठसँग नै जानकारी लिन आग्रह गरेका छन् । पटकपटक कुरा गर्न खोज्दा श्रेष्ठ भने सम्पर्कमा आउन चाहेनन् ।

स्थानीयका अनुसार सहकारीको साइनबोर्ड अझै टाँगिएको छ तर कार्यालय भने वर्षौँदेखि बन्द अवस्थामा रहेको छ । कार्यालय बन्द भएपछि बचत फिर्ता पाउने आशा झन् अनिश्चित बनेको मजदुरहरूको भनाइ छ ।

बचत फिर्ता पाउने आशामा उनीहरूले पार्टीका नेता वर्षमान पुन र कार्यालय सचिव गणेशमान पुनलाई समेत बारम्बार गुहारिरहेको बताएका छन् । सहकारी सञ्चालनमा ती नेताहरूको संयोजक प्रचण्डसँग नै पहुँच रहेकाले एकपटक प्रचण्डसँगै भेट्ने उनीहरूको योजना रहेको छ ।

यस घटनाले सहकारीमा बचत गर्ने मजदुरहरूको भविष्य र सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । सहकारीमा जम्मा गरिएको रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने चिन्ताले धेरै मजदुरहरूको रातको निद्रा हराएको उनीहरू बताउँछन् । अहिले उनीहरूको सुरक्षित भविष्यको सपना बन्द ढोकाभित्र थुनिएको जस्तो बनेको बताएका छन् ।

आइतबार, ०१ चैत्र २०८२, १८ : ३२

प्रतिक्रिया