काठमाडौं - आदर्शकुमार श्रेष्ठ यस्ता भाग्यमानी स्वकीय रहेछन् जसले यो भन्दा अघि कुनै पिएले नपाएको पद प्राप्त गरे । स्वकीय त देउवा र ओलीका पनि थिए । त्यस भन्दा पहिलेका प्रधानमन्त्रीका पनि थिए । तर तिनीहरु कसैले पनि श्रेष्ठले पाए जस्तो ठूलो पुरस्कार पाउन सकेका थिएनन् । हुन त यो सरकार विशेष परिस्थितिमा बनेको हो । सुशासनको लागि सडकमा दर्जनौं युवाहरुकोरगत बनेपछि यो सरकार गठन भएको हो । प्रधानमन्त्री सुशीला कार्की आफैं बालेन र सुदन गरुङ्गको कृपाबाट सत्तासिन बनेकी थिइन । पछिल्ला घटनाक्रमहरु हेर्दा यो सरकार केवल अन्तरिम सरकार थिएन । बरु रास्वपाको एकल सरकार थियो । सरकारमा गएका मन्त्रीहरु एक एक गर्दै रास्वपाको लागि खटिरहेका थिए ।
कतिपय मानिसहरुले सुशीलालाई अनेक शंकायुक्त नजरले हेरेकै थिए । तापनि उनी हक्की र निस्वार्थ महिला हुन भन्ने आम मान्छेलाई भ्रम थियो । त्यो भ्रमको पर्दा उनले सरकारबाट बिदा हुनेबेला पूर्णरुपमा च्यातिदिएकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गरेको भनेर वाहवाही पाइरहेकोबेला सरकारको छवि धुमिल बनाउने काम गरेकीछिन् । प्रधानमन्त्री सुशिला कार्कीले आफ्नै पीए आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गरेर सुशासनको लागि ज्यान दिएका जेनजिहरुको बलिदानीमाथि कालो पोत्ने काम गरेकीछिन ।
श्रेष्ठ उनै हुनु जसले स्वच्छ छविकी प्रधानमन्त्री कार्कीलाई विवादित बनाएका थिए । आफ्नै श्रीमतीलाई नियुक्ति गर्नेदेखि नियुक्तिहरुमा अनावश्यक चासो राख्ने कार्यमा श्रेष्ठ संलग्न भएको आरोप लाग्दै आएको थियो ।
मन्त्रिपरिषको सम्भवतः अन्तिम बैठकमार्फत् कार्कीले यस्ता व्यक्तिलाई नयाँ ठाउँमा नियुक्ति गर्दा सुशासनको धज्जी उडेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा ‘विवादित पात्रलाई नियुक्ति दिइयो, त्यो पनि आफ्नै स्वकीय सचिवलाई’ भन्दै आलोचना भइरहेको छ ।
प्रधानमन्त्री कोषका संरक्षक पनि हुन् । कार्कीले मन्त्रिपरिषद बैठकमार्फत् कोषको अध्यक्ष पदमा आफ्नै स्वकीय सचिव श्रेष्ठलाई ५ वर्षका लागि मनोनयन गरेको हो । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि सो पद रिक्त थियो ।
प्रधानमन्त्री बन्नु अघि र बने पछि पनि पुरा कार्यकालमा सुशासनको विषयमा कडा देखिएकी कार्कीले अन्त्यमा विवादास्पद निर्णय गरेकी हुन्र । सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए । प्रधानमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणपछि पदबहाली गरेलगत्तै श्रेष्ठलाई स्वकीय सचिव बनाएकी थिइन् । श्रेष्ठले प्रधानमन्त्रीको स्वकीय सचिव नियुक्त भएपछि आफ्नी श्रीमती संगीतालाई पनि असोज २ गते सहसचिव स्तरको नियुक्ति दिएका थिए ।
उनले श्रीमतीसहित अरू नातेदारलाई पनि सचिवालयमा राखेको आरोप छ ।
प्रधानमन्त्री कार्कीसँग आदर्शको पहिलेदेखि निकट चिनजान रहेको र व्यक्तिगत हेरचाहको काम पनि उनले नै गर्दै आएका थिए । प्रधानमन्त्री कार्की र उनका श्रीमान दुर्गा सुवेदीको व्यक्तिगत हेरचाह आदर्शले गर्दै आएका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको अन्तरिम सरकार गठन भएको हो । यो आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य थियो । आन्दोलनकै क्रममा नातावाद र कृपावादविरूद्ध ‘नेपो बेबी’ ट्रेन्ड समेत चलेको थियो । तर आन्दोलनपछि नियुक्त सरकार–प्रमुखका स्वकीय सचिवले नै आफ्नी श्रीमतीलाई जागिर खुवाएको भन्दै विरोध भएको थियो ।
उनले सरकारले गर्ने कतिपय नियुक्तिमा अनावश्यक चासो राख्दै आएको बताइन्छ । रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले त आदर्शलाई बर्खास्त गर्न सरकारसँग माग गरेको थियो ।
खासगरी राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरूपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहिता र पारदर्शिताविरूद्धको प्रत्यक्ष प्रहार भएको जेनजी फ्रन्टको भनाइ थियो ।
रास्वपाकै बर्चस्व रहेको वर्तमान कार्की सरकारले गरेका यस्ता विवादित निर्णयहरुले अब बन्ने नयाँ सरकारको कार्यशैलीको पनि संकेत गरेको छ । साँच्चिकै यो देशमा ज्यूँदा युवाहरु अझै छन् भने कार्की सरकारलाई प्रश्न गर्नुपर्दछ, अघिल्लो सरकारलाई नातावाद, कृपावाद र भ्रष्टाचारको संज्ञा दिनेले यो के गरेको ? के तिमीले गर्दा सुशासन हुने अरुले गर्दा कुशासन हुने हो ?
प्रतिक्रिया