काठमाडौँ- मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ ।
चैत-वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य हुने सम्भावना छ । आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी आँप उत्पादन हुने मधेस प्रदेशको कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवले जानकारी दिएका छन् ।यस वर्ष मधेसका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन् । मौसमअनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने उनले बताए । मधेसका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका हिसाबले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा मधेसका किसानले ३० हजार ६०० हेक्टरमा आँप खेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
प्रतिक्रिया