अलि लारिजानीको मृत्युले इरानको नेतृत्वमा गहिरिँदै संकट

बुधबार, ०४ चैत्र २०८२, १२ : ५३

काठमाडौं- इरानले देशको सुरक्षा प्रमुख अलि लारिजानी इजरेलको आक्रमणमा मारिएको पुष्टि गर्दै त्यसको ‘निर्णायक’ प्रतिवाद गरिने चेतावनी दिएको छ।

लाजिरानी इरानमाथि अमेरिका र इजरेलको आक्रमण सुरु भएयता मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेई पछि दोस्रो शीर्ष अधिकारी हुन्।

इजरेली सञ्चारमाध्यमका अनुसार आफ्ना छोरासँगै लुकेर बसेका बेला उनीमाथि आक्रमण भएको थियो।

लारिजानी सन् २०२५ अगस्टदेखि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्‌का प्रभावशाली सचिव थिए।

उक्त परिषद्‌मा उनलाई हालै मारिएका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईको प्रतिनिधिका रूपमा चित्रण गरिन्थ्यो।

इजरेली हवाई आक्रमणमा लारिजानी मारिएपछि इस्लामिक गणतन्त्रलाई एउटा संवेदनशील घडीमा देशका सबैभन्दा अनुभवी र प्रभावशाली नीति निर्माताहरूको अभाव हुने छ।

लारिजानी सैन्य कमान्डर नभए पनि इरानको रणनीतिक निर्णय प्रक्रियामा उनी केन्द्रीय भूमिकामा थिए।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको भूमिकामा उनी युद्ध, कूटनीति र राष्ट्रिय सुरक्षाका निर्णय प्रक्रियाको केन्द्रमा थिए।

अमेरिका र इजरेलसँग इरानको टकराब व्यवस्थापनमा उनको भनाइ इरानको सबै प्रणालीमा लागु हुन्थ्यो।

फेब्रुअरी २८ मा सर्वोच्च नेता अली खामेनेई मारिएपछि लारिजानीले इरान लामो सङ्घर्षका लागि तयार रहेको सङ्केत गरेका थिए।

पश्चिमाविरुद्ध कट्टर अडान लिए पनि इरानभित्र भने लारिजानीलाई व्यवहारवादी नेताका रूपमा हेरिन्थ्यो। उनले वैचारिक विषयलाई जडतामा भन्दा रणनीतिक दृष्टिकोणबाट व्याख्या गर्थे।

पश्चिमा देशहरूसँग सहकार्यबारे गहिरो आशङ्का गर्ने लारिजानीले चीनसँग इरानको दीर्घकालीन सम्झौता सहितका कूटनीतिक प्रयासहरूमा दूतको रूपमा काम गरेका थिए।

 
बुधबार, ०४ चैत्र २०८२, १२ : ५३

प्रतिक्रिया