काठमाडौं- नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता स् परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते सञ्चालन हुने आयोजकले जनाएको छ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने उक्त सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रामसुन्दर खाइतुका अनुसार सम्मेलनमा बारमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरू-वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, साथै नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।
भक्तपुरमा हुने उक्त सम्मेलनले नेपालमा महिला अधिकार तथा “महिलाको समानुपातिक समावेशिता स् परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” सम्बन्धमा घोषणापत्रसमेत जारी गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
बारका सचिव अनीश सुवालले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् । चैत ६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभात फेरी निकालेर कार्यक्रमको सुरु गरिने छ । प्रभात फेरी दत्तात्रय हुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने गरिने छ ।
दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल गरिने छ । आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ।
सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया