काठमाडौं - सामुदायिक विद्यालयहरुमा गुणस्तर खस्किएको भन्ने आरोप नयाँ होइन । सरकारी विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरी निजीमा पढाएको कारण विद्यालयको गुणस्तर सुधार तथा व्यवस्थापकीय पक्षमा ध्यान नदिएको भन्ने गरिन्छ । उक्त आरोपलाई चिर्दै दाङ तुलसीपुरको गुरुजजुर नमूना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीले आगामी शैक्षिक सत्रबाट छोराछोरीलाई पनि सोही विद्यालयमै पढाउने भएका छन् । तुलसीपुर–४ रक्षाचौरमा रहेको विद्यालयले शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य पढाउनुपर्ने नियम बनाएको हो ।
विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीले सरकारी विद्यालयप्रति आम जनमानसको विश्वास बढाउन विद्यालयमा अध्यापन गरिरहेका शिक्षक, कर्मचारीले आगामी शैक्षिक सत्रदेखि छोराछोरीलाई अनिवार्य आफूले पढाउने विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको जानकारी दिइन । सरकारी विद्यालयमा पढाउने शिक्षकले छोराछोरीलाई आफूले पढाउने विद्यालयमा पढाउनुपर्ने बहस चलिरहेका बेला गुरुजजुर नमूना माविले यस्तो निर्णय गरेको हो । प्रअ केसीका अनुसार विद्यालयमा अहिले ८० जना शिक्षक, कर्मचारी कार्यरत छन् ।
उक्त विद्यालयमा शिशुदेखि १२ कक्षासम्म पढाइ हुने गरेको छ । अहिले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका करिब २५ जना छोराछोरीले आगामी शैक्षिक सत्रदेखि भर्ना गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेको विद्यालयका सहायक प्रधानाध्यापक प्रमोदकुमार न्यौपानेले बताए । उहाँका अनुसार कतिपय कर्मचारीका छोराछोरीले हाल विद्यालयको प्राविदेखि उच्च शिक्षासम्म अध्ययन गरिरहेका छन् ।
प्रतिक्रिया