इरानी ऊर्जा केन्द्रहरूमा हमला गर्ने समयसीमा १० दिन थप्दै ट्रम्पले भने, ‘वार्ता जारी छ’

शुक्रबार, १३ चैत्र २०८२, १२ : १३

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी ऊर्जा केन्द्रहरूमाथि गर्ने भनिएका हमलाका समयसीमा थप्दै तेहरानसँग वार्ता ‘जारी’ रहेको र त्यो ‘निकै राम्रोसँग चलिरहेको’ बताएका छन्।

ट्रम्पले सोमवार सुरुवाती रूपमा पाँच दिनका लागि त्यस्ता हमला नगर्ने घोषणा गरे तापनि सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा पछिल्लो पोस्ट लेख्दै भनेः ‘इरानी सरकारको अनुरोधमा म ऊर्जा प्लान्ट विनाशको अवधि सोमवार, एप्रिल ६, २०२६, राति ८ बजेसम्मका लागि १० दिन रोक्दै छु ।’

त्यसलगत्तै बिहीवार बढेको तेलको मूल्य तत्कालै केही घटेको थियो। त्यसअघि मन्त्रिपरिषद् बैठकमा ट्रम्पले इरान अमेरिकी शान्ति योजनामा ​​सहमत नभए उसका लागि ‘सबैभन्दा खराब दुःस्वप्न ’हुने बताएका थिए।

सोही बैठकमा अमेरिकी विशेष दूत स्टीभ विट्कफले अमेरिकाले इरानलाई १५ बुँदे शान्ति योजना पठाएको पुष्टि गरेका थिए।

त्यसअघि उक्त प्रस्तावको प्रतिक्रियामा एक इरानी अधिकारीले सरकारी सञ्चारमाध्यमसँग बोल्दै तेहरानसँग होर्मुज जलमार्ग नियन्त्रण गर्ने ‘प्राकृतिक र कानुनी अधिकार’ रहेको बताएका थिए।

यसैबीच ट्रम्पले मध्यपूर्वमा १०,००० थप स्थल सेना पठाउने विचार गरिरहेको वाल स्ट्रीट जर्नल पत्रिकाले खबर प्रकाशित गरेको छ।

ट्रम्पले इरानी ऊर्जा केन्द्रहरूमा हमला गर्ने भनेको समयसीमा पाँच दिनबाट दुई हप्तासम्म बढाएपछि एशियामा शुक्रवार बिहानको व्यापारमा विश्वव्यापी तेलको मूल्य केही कम भएको छ।

एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूडु १.२ प्रतिशतले घटेर १०६.७६ अमेरिकी डलर पुगेको छ। त्यसै गरी वेस्ट टेक्सास इन्टरमिडिएट १.१ प्रतिशतले घटेर ९३.४१ अमेरिकी डलर पुगेको छ।

गत ज्यानुअरीमा ह्वाइट हाउसमा फर्किएदेखि अमेरिकी जनतामाझ ट्रम्पको लोकप्रियता निरन्तर घट्दो क्रममा छ।

इरान युद्धको तीन सातापछि ग्यासको मूल्य औसतमा प्रतिग्यालन ४ अमेरिकी डलर पुगेको छ। यसैबीच ट्रम्पको आर्थिक स्वीकृति मूल्याङ्कन २९ प्रतिशतमा झरेको छ।

इरान युद्धको सुरुवात हुँदा २८ फेब्रुअरीसम्म केवल ४२ प्रतिशत अमेरिकीहरूले आफ्ना राष्ट्रपतिका बारेमा सकारात्मक दृष्टिकोण राखेका थिए। यो साता उक्त अङ्क ४० प्रतिशतमा झर्‍यो।

के स्ट्रेट अफ होर्मुजको अर्को विकल्प छैन ?

राष्ट्रपतिको स्वीकृति मूल्याङ्कनमा भने त्यति ठूलो गिरावट आएको छैन। त्यसको कारण धेरैजसो जनताले सुरुदेखि नै अमेरिकी सैन्य हस्तक्षेपको विरोध गरे तापनि ट्रम्पको राजनीतिक आधारले उनलाई समर्थन जारी राख्नु रहेको प्यू रिसर्च सेन्टरले तालिकाबद्ध गरेको तथ्याङ्कले देखाउँछ।

हालै गरिएको क्विनिपियाक सर्वेक्षणले ८६ प्रतिशत रिपब्लिकनहरूले इरानमा अमेरिकी सैन्य कारबाहीलाई समर्थन गरेको र ८० प्रतिशतले ट्रम्पले यसलाई सम्हालिरहेको तरिकालाई समर्थन गरेको थाहा पाएको छ।

बीबीसी न्यूज नेपाली

शुक्रबार, १३ चैत्र २०८२, १२ : १३

प्रतिक्रिया